समाचार

नेपालमा , निको हुनेको संख्या ३० पुग्यो

काठमाडौं। नेपालमा थप ८ जनाले कोरोनाभाइरसलाई जितेका छन् । कोसी अस्पतालमा कोरोनाको उपचार गराइरहेका ८ जना निको भएका हुन् । कोरोनाको उपचारपछि निको भएका ८ जनालाई भोलि नै डिस्चार्ज गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ।

उनीहरुको ३ पटकको कोरोना रिपोर्ट नेगेटिभ आएको जनाइएको छ । यससँगै नेपालमा कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३० पुगेको छ । यसअघि नेपालमा ६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका थिए । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ९९ पुगेको छ।

यो पनि : स्वीस सरकारले नेपाललाई दियो ३० हजार थान पीसीआर टेष्ट किट

स्वीटरल्याण्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेष्ट किट आज नेपाल आइपुगेको छ । पिसिआर टेष्टकिट सहित स्वीस सरकार विकास सहयोग एसडिसिले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमान मार्फत आज आइपुगेको हो ।

स्वीस सरकारको तर्फबाट उक्त स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई आज हस्तान्तरण गरिएको छ । विमानस्थल पुगेर नेपालका लागि स्वीस राजदूत एलिजाबेथ भोन क्यापलरले स्वास्थ्यमन्त्री ढकाललाई सहयोग सामग्री हस्तान्तरण गरे ।

टेष्ट किट हस्तान्तरण गर्दै नेपालका लागि स्वीस राजदूत क्यापलरले संक्रमण नियन्त्रणका लागि आवश्यक र महत्वपूर्ण परीक्षणलाई ३० हजार टेष्ट किटले सुदृढ गर्ने बताए ।

एसडिसिले ४ हजार सेट पिपिइ सेट, १ हजार इनफ्रारेड थर्मोमिटर, ८ हजार एन ९५ मास्क यसअघि नै नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । यसैगरी स्वीस सरकारले कोभिड—१९ को पूर्वतयारी, राहत र पुनस्र्थापानाका लागि सहयोग गर्न ५० लाख स्वीस फ्र्याङ्कको कोष स्वीकृत गरेको छ ।

सहयोगका लागि निर्माण भएको उक्त कोषले महामारी प्रभावित नेपालको सामाजिक, आर्थिक असर घटाउन र आवश्यकता थता समावेशीतामा आधारित कार्यहरु प्रभावकारी रुपमा सम्बोधन गर्ने विश्वास स्वीस सरकारले व्यक्त गरेको छ ।

कोरोना रोकथामका लागि नेपाल सरकारको प्रयासलाई निरन्तर सहयोग गर्ने प्रतिवद्धता पनि स्वीस सरकारले गरेको छ ।

Related Articles

Back to top button