समाचार

उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६

काठमाडौं उपत्यकामा सक्रिय कोरोना संक्रमितको संख्या ३ सय ६ पुगेको छ। मंगलबार ५३ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या ३ सय नाघेको हो।मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा काठमाडौंका ४८, ललितपुरका ४ र भक्तपुरका एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन्।उपत्यकामा एकैदिन पुष्टि भएको यो अहिलेसम्मकै धेरै संख्या हो। ३ सय ६ जना संक्रमितमध्ये २७ जना नेपाल प्रहरी मुख्यालयका सुरक्षाकर्मी छन्। काठमाडौं जिल्लामा मात्र संक्रमित संख्या २ सय २८ छ। त्यस्तै ललिपुरमा ५८ र भक्तपुरमा २० जना छन्।संक्रमित सबैको उपत्यकाका कोरोना अस्पतालमा उपचार भइरहेको छ। केहीलाई भने आइसोलेसन सेन्टरमा राखिएको छ। सरकारले उपत्यकाको तीन वटा ठाउँमा आइसोलेसन सेन्टर स्थापना गरेको छ। जसमा खरिपाटी, कीर्तिपुर र गणेसमानसिंह अस्पताल रहेका छन्।

उपत्यकामा देखिएका संक्रमितहरू कस्ता हुन् भन्ने बारे मन्त्रालयले विवरण खुलाएको छैन। यद्यपी संक्रमितहरू धेरै विदेशबाट आएका रहेको बताइएको छ। यस्तै बाहिरी जिल्लाहरूबाट उपत्यका प्रवेश गरेका व्यक्तिहरूमा पनि संक्रमण देखिएको रोग नियन्त्रण महाशाखाले जनाएको छ।केही संक्रमित भने उपत्यकाका स्थानीय र ‘ट्राभल हिस्ट्री’ नभएका पनि छन्। तर ती कति संख्यामा छन् भन्ने मन्त्रालयले विवरण सार्वजनिक गरेको छैन। लकडाउनलाई पहिलो चरणमा खुकुलो पार्ने निर्णय भएसँगै स्वास्थ्य मन्त्रालयले संक्रमण नियन्त्रणको लागि एउटा मापदण्ड जारी गरेको थियो। उक्त मापदण्डमा जिल्लामा २ सय बढी ‘ए क्टिभ केस’ भएको अवस्थामा पूर्ण लकडाउन गर्न सकिने भनिएको छ।अहिले काठमाडौंमा कोरोनाको ‘एक्टिभ केस’ २ सय नाघेको छ। तर मन्त्रालयका प्रवक्ता गौतमले अहिले उपत्यकामा पुनः लकडाउन गर्ने कुनै योजना नभएको स्पष्ट पारे।’मापदण्डमा गर्न सकिने भनिएको हो। त्यो पनि अवस्था हेरेर हुन्छ’ उनले भने, ‘अहिले उपत्यकामा संक्रमितहरूलाई व्यवस्थापन गर्न सकिएको छ। त्यसैले लकडाउन गर्ने कुनै योजना छैन।’

पछिल्लो समय उपत्यकामा पनि संक्रमित संख्या बढ्दै गएपछि यसले थप जोखिम निम्त्याएको विज्ञहरूले औंलाएका छन्। उनीहरुले संक्रमण नियन्त्रण बाहिर जान नदिन परीक्षणलाई व्यापक बनाउनुपर्ने सरकारले सुझाव दिँदै आएका छन्।मन्त्रालयका विज्ञ सल्लाकारहरूले पनि परीक्षण बढाउन सुझाव दिएका छन्। उपत्यकामा दैनिक संक्रमण बढ्न थालेपछि अहिले मन्त्रालयले ‘मास टेस्टिङ’ को नीति अघि सारेको छ। जसमा उपत्यकामा मात्र दुई सातामा ४५ हजार जनाको परीक्षण गर्ने भनिएको छ।यस्तै अहिले उपत्यका प्रवेश गर्ने मुख्य तीन नाकाहरूमा पनि मानिसहरूको स्वाब संकलन गर्ने कार्य भइरहेको छ। प्रवक्ता गौतमले मंगलबार मात्रै तीन वटा नाकाबाट ४८ सय जनाको स्वाब संकलन गरिएको जानकारी दिए।ती नाकाहरू थानकोट, फर्पिङ र साँगा रहेका छन्। यी नाकाबाट उपत्यका प्रवेश गर्ने बाहिरी जिल्लाका व्यक्तिहरूको स्वाब संकलन गरिएको हो।यस्तै स्वेच्छाले शुल्क तिरेर परीक्षण गर्ने व्यक्तिहरूमा पनि संक्रमण पुष्टि भएको छ। मंगलबार मात्र स्टार अस्पतालमा गरिएको परीक्षणमा ६ जनामा संक्रमण पुष्टि भएको छ।सरकारले स्टार अस्पताल र काठमाडौं मेडिकल कलेज गरी दुई वटा निजी अस्पताललाई शुल्क लिएर परीक्षण गर्न पाउने अनुमति दिएको छ। योसँगै उपत्यकामा तीन वटा सरकारी अस्पताललाई पनि सशुल्क परीक्षण गर्ने अनुमति दिइएको छ। जसमा वीर, टिचिङ र पाटन अस्पताल छन्।प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७, १९:०८:००

Related Articles

Back to top button