समाचार

जीप आफै गुडेर भीरबाट खसेपछि ८ जना रहेनन्

काठमाडौ । बाग्लुङ, बडीगार्ड गाउँपालिका-५ दाँगास्थित सडकमा रोकेर सामान लोड गर्दै गरेको लु.१ ज ४३७० नम्बरको जिप आँफै गुडेर सडकबाट करिब ४ सय मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार बडिगार्ड गाउँपालिका-५ दागा बस्ने २२ वर्षीया टेकमाया राना र उनकी ८ महिनाकी छोरी छाँया रानाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटना गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने ६० वर्षीया गौमती रोक्काको स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका-७ भलवारीस्थित सडकमा लु.२४ प ७५०६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका-१५ मधवलिया बस्ने २७ वर्षीय बिकाश चौधरी र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय हरि गुरुङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यता झापा, कञ्चनपुर, पाल्पा र पर्साका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । झापा, बिर्तामोड नगरपालिका-६ स्टाफ चोकमा मे.१ ज ३११९ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री तेह्रथुम आठराई गाउँपालिका-६ बस्ने २५ वर्षीय केवल खवासको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका केवलको बी एण्ड सी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ हात्तीबोझास्थित सडकमा ‘अनटेष्ट’ लेखिएको मोटरसाइकल आफैं अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलका चालक सोही नगरपालिका-८ पचुई बस्ने २० वर्षीय हेमन्त बहादुर चन्दको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका हेमन्तको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अर्का १ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ ।

पाल्पा, रामपुर नगरपालिका-७ बट्टारस्थित सडकमा लु.५० प ६२१ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा स्कुटरका चालक सोही ठाउँ बस्ने २२ वर्षीय जिवन रानाको घटनास्थलमै मृत्यु भएको छ । पर्सा, धोबिनी गाउँपालिका-४ बखरीस्थित सडकमा प्रदेश २-०३-००१-१८३४ नम्बरको थ्रेसर मेसिन सहितको ट्याक्टर आफैं अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा टयाक्टरमा सवार सोही ठाउँ बस्ने ५५ वर्षीय जमुना साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अर्का १ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Related Articles

Back to top button