समाचार

दुबई प्रहरीमा जाने तयारीमा रहेका तीर्थको मृत्यु

मोरङको बेलबारी नगरपालिका–६ का २४ वर्षीय तीर्थकुमार राई वैदेसिक रोजगारीमा जाने तयारीमा थिए । दुबई प्रहरीमा जाने तयारीमा रहेका उनलाई म्यानपावर कम्पनीले शनिबार अन्तरवार्ताका लागि बोलाएको थियो । शनिबार उनी बिहानैदेखि इटहरी आउने तयारीमा थिए । उनकी भाउजू डोल्मा पनि माइत जाने तयारीमा थिइन् । अन्तरवार्ताका लागि घरबाट हिँडेका उनीसँगै भाउजु डोल्मा र ११ वर्षीय भतिजी सोर्निमा पनि थिए ।

बिहान करिब १० बजे बा८८प ४६९६ नम्बरको मोटरसाइकलमा आउँदै गरेका तीर्थलाई पूर्वपश्चिम राजमार्गको सुन्दरहरैँचा नगरपालिका–१० सुकुना पुलमा सोही दिशाबाट आउँदै गरेको भारतीय ट्रकले ठक्कर दियो । तीव्र गतिमा आउँदै गरेको बिआर ०६ जिडी ५५५२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटसाइकलमा सवार तीनजना घाइते भए ।

ठक्करबाट गम्भीर घाइते भएका तीर्थलाई उपचारका लागि कोसी अस्पताल विराटनगरमा भर्ना गरेलगत्तै मृत घोषित गरे । उनीसँगै मोटरसाइकलमा सवार भाउजु ३० वर्षीय डोल्मा राई र ११ वर्षीय भतिजी सोर्निमा राई घाइते भएका छन् । दुवैजनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । डोल्माको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ट्रक र ट्रकचालक भारतको बिहार मुझापुर बस्ने ५८ वर्षीय उमाकहक सिंहलाई प्रहरीले पक्राउ गरेको छ । तीव्र गतिमा रहेको ट्रकले अनियन्त्रित भई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button