भिडियो

ढल्यो लोक दोहोरीकाे एउटा बलियो खम्बा,

काठमाडौं – लोक तथा दोहोरी गायक रत्न बानियाँको निधन भएको छ । गायक बानियाँको दुवै मृगौलाले काम गर्न छाडेपछि ओम हस्पिटलमा उपचारार्थ थिए । उनको आज विहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गायक बानियाँको ‘लडाईँ​को लाहुरे, पानमा सुपारी, बिन्ती छ निष्टुरी, यति राम्रो झिल्के, स्याङ्जा दहथुम, कहाँबाट आयो पापी काल लगायतका दर्जनौं गीत अझैपनि चर्चामा छन् ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजीवन सदस्य समेत रहेका उनले लामो समयदेखि झरना संगीत संचालन समेत गर्दै आएका थिए ।

तीन दशकभन्दा लामो समयसम्म लोकसंगीतमा बिताएका बानियाँले गाउँबेसी, लाहुरेका कथा तथा लोकभाकाहरुलाई आफ्नो संगीत सिर्जनामामा ढालेका छन् । ‘घर छोडेर जाने बेलामा’, रोई बाँच्नुभन्दा’, ‘छैन ठेगाना’, ‘छैन जानु कहीँ’, ‘पानमा सुपारी’, ‘बिन्ती छ निष्ठुरी’, ‘हरियो बेलपत्र’ जस्ता उनका गीतहरुमा लाहुरे जीन्दगीका कथा, पारिवारिक विछोड तथा जीवन भोगाइका मर्मस्पर्शी भोगाइहरु समावेश भएका छन् ।

बानियाँको निधनले लोकसंगीतले एक अभिभावक तथा मूर्धन्य व्यक्तित्व गुमाएको सर्जक एवं ‘राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल’ का अध्यक्ष रमेश बिजीले बताए । बानियाँका श्रीमती, एक छोरी र दुई छोरा छन् । बानियाँको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बिजीले बताए ।

लोक गायन क्षेत्रमा वर्षौदेखि सक्रिय उनको निधनमा नेपाली लोक तथा दोहोरी गीत प्रतिष्ठान, विभिन्न कलाकारहरुले दुःख व्यक्त गर्दै श्रद्धान्जली दिइरहेका छन् ।

भिडियोः

Related Articles

Back to top button