समाचार

मकालु आधारशिविर बाट ६ जना लिएर फर्कंदै गरेको हेलिकप्टर दुर्घटना

ओखलढुंगा — २०५९ जेठ १७ गते । मकालु आधारशिविरबाट ६ जना भरिया लिएर फर्कंदै गरेको चार्ली युनिफर्म हेलिकप्टर बिहान १० बजेतिर अचानक बेपत्ता भयो । सुरक्षा टोलीले मकालु क्षेत्रका हिमाली खोचहरूमा खोज्नुसम्म खोज्यो ।न हेलिकप्टर भेटियो न त त्यसमा सवार यात्रु । चार महिनासम्म केही पत्तो नलागेपछि नागरिक उड्डयन मन्त्रालयले हेलिकप्टर दुर्घटना भएको निचोडनिकाल्यो । खोजी बन्द भयो ।रेस्क्यु फ्लाइटको उक्त हेलिकप्टरमा सोलुखुम्बुका वाङछु शेर्पा, निमादोर्जी तामाङ, प्रकाश कार्की, सिन्धुपाल्चोकका कर्मा तामाङ, ओखलढुंगाका प्रमोद सुनुवार, ताप्लेजुङका सार्की शेर्पा सवार थिए । चार सदस्यीय चालक दलमा क्याप्टेन रसियन ग्रेभिनिकोभ, कोपाइलट सोलुखुम्बुका सोनाम टासी शेर्पा, फ्लाइट इन्जिनियर रसियन नागरिक ए गुमार र फ्लाइट एटेन्डेन्ट डी अमात्य थिए ।१७ वर्षपछि आएर सोलुखुम्बुका एक युवाले उक्त रसियन एमआई १७ हेलिकप्टरको अवशेष भेटेका छन् । महाकुलुङ गाउँपालिका–३, छेस्कामका चतुर कुलुङ राईले मकालु–बरुण राष्ट्रिय निकुञ्जनजिकै करिब ५ हजार मिटर उचाइलाई दुर्घटनास्थल दाबी गरेका छन् ।उनका अनुसार हेलिकप्टर खसेकै स्थानमा पुग्न नसके पनि प्रमाणका लागि हेलिकप्टरको अवशेषका रूपमा करिब सय किलो हाराहारी तारको गुजुल्टो फेला परेको छ, जसमा रसियन अक्षर अंकित छन् । कुलुङले ‘वातेल्मा पिक’ छेउबाट बगेर आएका दुइटा हिमनदीको मुनिपट्टि पाखामा तार भेटेका हुन् । उक्त तार वातेल्मा खोलाले बगाएर ल्याएको अनुमान गर्दै उनले त्यही पिक नजिकैको खोचमा हेलिकप्टरखसेको दाबी गरेका छन् ।‘मकालु आधारशिविरबाट सोलुतर्फ लाग्नेबित्तिकै दुइटा

ठूला पिक छन् । एउटा अग्लो छ, अर्को अलि होचो,’ उनले भने, ‘ती दुइटा पिकको खोचमा हेलिकप्टर खसेको छ । त्यही खोचबाट आएको हिमनदीले तार बगाएर ल्याएको देखिन्छ ।’ कुलुङका अनुसार उनले यसअघि मेरापिक जाने पदमार्ग निर्माणका क्रममा हेलिकप्टरका अन्य स–साना भाग बगेर आएको देखेका थिए । सोही आधारमा हेलिकप्टर त्यहीं खसेको अनुमानसहित खोजीमा निस्केका हुन् ।घटनास्थल दाबी गरिएको स्थान अत्यन्त दुर्गम छ । छेउछाउ बस्ती छैन । कुलुङ गाउँकै ज्ञानबहादुर कुलुङ, निश्चल कुलुङ र पदमबहादुर कुलुङलाई सहयोगी लिएर गएका हुन् । उनीहरू महाकुलुङको छेस्कामबाट पाँच दिन पैदल यात्रापछि त्यहाँ पुगेका हुन् । जेठ ९ गते घटनास्थल पुगेर १४गते गाउँ आइपुगेको राईले बताए ।गत चैतमा कान्तिपुरको कोसेलीमा प्रकाशित ‘कहाँ हरायो चार्ली युनिफर्म ?’ लेख पढेपछि उनलाई खोज्न जाने हुटहुटी लागेको रहेछ । ‘मेरा दाजु भेडा चराउन निकै माथि हिमालका काखहरूमा पुग्नुहुन्थ्यो । त्यही क्रममा वातेल्मा पिकनजिकै पुग्दा फलामका ठूला टुक्रा, तारहरू भेटेको सुनाउनुहुन्थ्यो,’ कुलुङले भने, ‘कान्तिपुरको लेख पढेपछि उहाँका कुरा सम्झिएँ र त्यो पक्कै चार्ली युनिफर्मकै अवशेष हुनुपर्छ भन्ने लागेर खोज्न निस्किएको हुँ ।’कुलुङ टोली ज्यानको बाजी राखेर अक्करे भीर छिचोल्दै त्यहाँ पुगेको थियो । उनले प्रमाणका लागि अवशेषको तस्बिर, भिडियो र तार लिएर आएका छन् । हेलिकप्टर बेपत्ता भएको समयमा पत्ता लगाउनेलाई २ लाख रुपैयाँ पुरस्कार दिनेआह्वान गरिएको थियो । सोही सूचनालाई आधार मानेर हेलिकप्टर कम्पनीका मालिकलाई जानकारी गराए पनि कुनै प्रतिक्रिया नपाएको कुलुङले बताए । अब नागरिक उड्डयन प्राधिकरणलाई औपचारिक रूपमा जानकारी गराउने उनको तयारी छ ।
प्रकाशित : जेष्ठ ३०, २०७६ ०८:४७

Related Articles

Back to top button