समाचार

गुठी विधेयक विरूद्ध आन्दोलन्

परम्परासँग मान्छेको एकदमै बाक्लो र घनिष्ठ सम्बन्ध हुन्छ। गुठी पनि नेवारहरूको निम्ति संस्कृति र सभ्यतासँग जोडिएको विषय हो। यस्तो गम्भीर विषयमा हात हालेर सरकारले बेमौसमी राग अलापेको छ।शक्तिशाली सरकारले गर्नुपर्ने कामहरू कम थिएनन्। काठमाडौं उपत्यकाबासीलाई मेलम्चीको पानी मात्र खुवाउन सकेको भए साराले मान्ने थिए। गर्नुपर्ने काम एकातिर छ, त्यसलाई वास्तै नगरेर नचाहिने काममा किन हात हालेको हो, मैले बुझेको छैन।न कसैले मागेको छ, न कसैले यो विषय उठाएको छ। यो त आफ्नो विनाश आफैंले खोजेजस्तो देखियो।गुठी भनेको हिजो-अस्तिको परम्परा होइन। लिच्छवि राजा शिवदेव र अंशुवर्माकै पालाका शिलालेखमा ‘गोष्ठिका’ शब्द प्रयोग भएको पाइन्छ। बाजागाजा गर्न त्यतिबेलै ‘बादित्र गोष्ठिका’ थियो। राजकुलोदेखि धारासम्म पानी प्रबन्ध गर्न ‘पानीय गोष्ठिका’ थियो। गुठी त्यही ‘गोष्ठिका’ बाट आएको हो।लेलेको लिच्छविकालीन शिलालेख हेर्ने हो भने त्यो बेला ‘पानीय गोष्ठिका’ ले लेले, चापागाउँ, सानोगाउँ, ठेँचो, सुनाकोठी जम्मैतिरबाट पानी ल्याएर पाटन, टुँडिखेलका चार पोखरी भरेको पाइन्छ। त्यही पानी पाटन अस्पतालको पोखरी हुँदै जावलाखेलको ठूलो पोखरीसम्म ल्याइएको थियो।अहिले महानगरपालिका बसेको ठाउँमा चारवटा कमलपोखरी थिए। ती पोखरी पनि त्यही राजकुलोबाट आउने पानीले भर्थ्यो। त्यहाँबाट पिम्बहालको पोखरी भरेपछि बागमती किनारमा गएर त्यो राजकुलो खस्थ्यो।सहरमा पानीको प्रबन्ध मिलाउन यति बलियो सञ्जाल मिलाउने काम गुठीले नै गरेको हो। गुठीका माध्यमबाट सर्वसाधारणले नै सफलतापूर्वक व्यवस्थापन गरेको काम अहिले सिंगो राज्य लाग्दा पनि लथालिंग छ। यत्रो प्रयास र बजेट लगाउँदा पनि सरकारले काठमाडौंबासीलाई देखाएको मेलम्ची सपना पूरा गर्न सकेको छैन।आफ्नोभएको परम्परा ध्वस्त पारेपछि आउने परिणाम भनेको यस्तै हो।गठीलाई पहिलेदेखि बलियो बनाउँदै आएको भए यस्तो हुने थिएन। उतिबेला लेलेबाट पानी ल्याउने ‘पानीय गोष्ठिका’ जस्ता निकाय अझ बलियो हुने थियो। सोच्नुस् त, काठमाडौंका घर-घरबाट मानिस निस्केर खन्न गएको भए के सम्भव हुँदैन थियो? सबैले पैसा दिएको भए कति जम्मा हुन्थ्यो?अहिले पनि इन्द्रजात्रामा लिंगो ठड्याउने काम सरकारले गरेको हो र? सात सय मानन्धरहरू आफैं गएर रूख काटेर, ताछेर, तानेर ल्याउने हो।यत्रो मच्छिन्द्रनाथको रथ बनाउने काम कसले गरिरहेको छ? के यो सरकारले गरेको हो? के यस्तो रथ बनाउने काम ज्याला दिएको भरमा सम्पन्न हुन सक्छ?इन्द्रजात्रादेखि मच्छिन्द्रनाथको जात्रा चलाइरहेको गुठीले नै हो।

सत्यमोहन जोशी
यति ठूलो काम हरेक वर्ष सफलतापूर्वक गर्दै आएका गुठीहरूमा केही कमजोरी भएकै भए पनि त्यसलाई सुल्झाउन सरकारले सघाइदिए हुन्थ्यो। समग्र प्रणाली नै बिथोल्ने गरी विधेयक ल्याएर हात हाल्न खोज्नु एकदमै गलत काम हो।समुदायले सञ्चालन गर्दै आएका गुठीलाई प्राधिकरण मातहत ल्याएर चलाउन थालेपछि धेरैलाई मर्का पर्छ। गुठी भनेको भावनाबाट चल्ने कुरा हो। धार्मिक आस्थामा बाँचेका मानिसको भावना समेटेर अघि बढेको परम्परा हो, गुठी। ‘मैले यो गुठी इमानदारीसाथ चलाइनँ भने मेरो सात पुस्ता नर्कमा जान्छ, वा यसलाई रक्षा गरे धर्म, बिगारे पाप’ भनेर हरेक नेवारको मनमा खुल्दुली चलिरहेको हुन्छ। त्यही भावना र शक्तिले गुठीलाई अघि बढाएको हुन्छ। भावना नै मारेपछि त्यसको अस्तित्व रहन्न।छिल्लो समय गुठीको परम्परा धान्न मुश्किल पर्दै गएको सत्य हो। म आफैं संलग्न रहेका चार-पाँच गुठीमध्ये भीमसेन गुठीबाट अलग भएँ। पहिले आम्दानी पनि हुने गरेको गुठीमा अब एकोहोरो खर्च मात्रै हुन थाल्यो। महँगीले धेरै असर गर्यो। पहिले चार रूपैयाँमा आउने एक मुरी धान अहिले चार सय तिरेर पनि आउँदैन। जबकि, गुठीले गर्नुपर्ने परम्परा यथावत् छन्। जग्गा सम्हालेर बसेकाहरूबाट बाली वा नगद उठाउन मुश्किल पर्दै गएको छ। भनेको बेला राँगो चाहिने, भनेको बेला बोका चाहिने। उता उठाउनुपर्ने ठाउँबाट भने स्रोत नै सुक्दै जाने।यस्तो अवस्थामा धान्नै गाह्रो भएपछि त्यो एउटा गुठी मैले छाडेको हुँ। यति हुँदाहुँदै पनि धेरैले खाई-नखाई धर्मका नाममा, परम्पराका नाममा काम गर्दै आएका छन्। बरू यसमा सरकारले के-कसरी भरथेग गर्न सक्छ भनेर सोचिदिए हुन्थ्यो। त्यस्तो सोच्ने काम भएन।उल्टो गुठी संस्थानमा सरकारपिच्छे राजनीतिक दलका मानिस घुसाउने र उसले कसरी हुन्छ फाइदा उठाएर अन्तै जाने परम्परा बढ्दै गएको छ। त्यसरी नियुक्त गरिने मानिस गुठीको मर्म बुझेको हुनुपर्ने थियो। यहाँ त जो आए पनि मालपोतमा जस्तो खाने ध्याउन्न भएका मान्छे मात्र आए। त्यसले पनि गुठीहरू ध्वस्त पार्यो।सरकारले जग्गा र आयस्ताको कुरा मात्र हेरेको होला। यहाँ त्यो मात्र छैन। यो विधेयकले संस्कृतिमै ठूलो प्रहार गर्छ।प्राध्यापक केदारभक्त माथेमा जापानमा चार वर्ष राजदूत भएर बसे। फर्केर आएपछि उनले नेपालमा गर्ने सबैभन्दा राम्रो काम नै यहाँको गुठी व्यवस्था रहेछ भनेर त्यसैमा लागे। जापानमा बस्दा नेपालको सबभन्दा राम्रो पक्ष नै गुठी व्यवस्था हो भन्ने माथेमाले अनुभव गरेका थिए।उनका अनुसार जापानीहरू हाम्रो गुठी व्यवस्थाको एकदमै तारिफ गर्दा रहेछन्। त्यही भएर फर्किनेबित्तिकै माथेमाले जावलाखेलको स्टाफ कलेजमा एउटा कार्यक्रम गरेर हामीलाई पनि बोलाएका थिए। त्यही कार्यक्रमबाट उनी यो गुठीलाई नयाँ तरिकाले अघि बढाउनुपर्छ भनेर लागेका थिए। किताब पनि निकालेका थिए।

यस्ता सारा असल प्रयासहरू फेल खाए।

एकपटक यो मच्छिन्द्रनाथको भोटोजात्रा युनेस्कोमा पठाउने कुरा भएको थियो। हाम्रो नेपालको सबैभन्दा बढी जनसहभागिता हुने ठूलो र बाह्र सय वर्ष पुरानो जात्रा भनेर रिपोर्ट पनि तयार भयो। त्यसपछि विधिपूर्वक त्यसलाई युनेस्कोमा पठाइयो। तर, युनेस्कोले मानेन। यसमा त हामीले चलाउनै नमिल्ने रहेछ भन्यो।यो मच्छिन्द्रनाथको रथ कथंकदाचित् बिग्रियो भने जस्तोसुकै प्रणालीबाट पनि तत्काल निर्माण गर्न मुश्किल पर्छ। जबकि, अहिले चलाइरहेको गुठीले तुरुन्ता तुरुन्तै गुठियारहरू परिचालन गरेर बनाइहाल्छ। त्यत्रो प्रभावकारी गुठी प्रणाली भएको ठाउँमा हामीले हात हाल्नेबित्तिकै ध्वस्त हुन्छ भनेर युनेस्कोले हात लगाएन।युनेस्कोलाई यस्ता कुरामा लगानी गर्न के समस्या थियो र? तर, गरेन। किनभने यसमा पैसा भित्रिनेबित्तिकै गुठीको निम्ति काम गर्ने भावना सकिन्थ्यो। सबै पैसाको खोजीमा लाग्थे। जुन भावनाले गुठी चलिरहेको छ, त्यो भावनै सकिन्थ्यो। गुठी मर्थ्यो। जुनकुरा युनेस्कोले चाहेन।हाँ गुठीभित्रै पनि अनेक किसिमका गिरोह नभएका होइनन्। गिरोह चलाएर फाइदा उठाइरहेकाहरू पनि छन्। त्यस्ता गिरोहले गुठीको जग्गा देखिरहेको छ। जथाभावी बेचबिखन गरेर बर्बाद गरेका छन्। यो विधेयकबाट यतिबेला कोही खुसी छन् भने तिनै माफियाहरू छन्। जबकि, त्योभन्दा धेरै बढी संख्यामा अत्यन्त सोझासिधामानिस गुठीमा छन्, जसले परम्परा निर्वाह गर्दै आएका छन्। जे-जस्तो अवस्थामा पनि धर्मलाई हेरेर काम गर्दै आएका छन्। उनीहरूका बारेमा सोचिनुपर्छ। सरकारको कदमले त्यस्ता मानिसको भावनामा आघात पर्छ।हाम्रा प्रधानमन्त्रीको नारा ‘समृद्ध नेपाली सुखी नेपाल’ छ। समृद्ध भनेको के हो? भौतिक विकासका कुरालाई मात्र समृद्धि भनेको हो कि क्या हो? नत्र समृद्धि खोजिनुपर्ने त संस्कृतिमा हो।गुठीमा प्रहार गरेर न मुलुक समृद्ध बन्छ, न नेपाली सुखी हुन्छन्। भइराखेको कुरा बिगारेर संसारमा को समृद्ध भएका छन्?अझ कतिसम्म भने सडकमा विरोध गर्नेहरूलाई पुलिस लगाएर, पानीको फोहरै चलाएर दमन गरिएको छ। त्यस्तरी तर्साउनुपर्ने गरी के बिगार गरे यिनीहरूले? यिनका पुर्खाले गुठीमा आबद्ध भएर निर्माण गरेको ठाउँ हो यो। यो ललितपुर दरबार स्क्वायरका ठूल्ठूला ढुंगा मानिसले नै बोकेर ल्याएका हुन्। कृष्ण मन्दिर अगाडिको त्यत्रो गरुडको खम्बा ल्याउन त्यति बेला ‘क्रेन’ थिएन। सरकारले गरेको पनि होइन। त्यो ‘छेभडेल अड्डा’ ले भनेको भरमा कताको कुन खानीबाट जनताले श्रमदान गरेर तानेर ल्याएको हो। गुठीकै तरिकाले यी सारा संरचना निर्माण भएका हुन्।हिले उसैको सन्तानलाई गुठीको पक्षमा बोल्यो भनेर बुटले हिर्काउन मिल्छ? पानीको फोहराले हिर्काउन मिल्छ?पहिले पनि रणबहादुर शाहको पालामा गुठीमाथि यस्तै जथाभावी भएको थियो। त्यो बेला ‘गुठी हरण’ भन्ने शब्दै थियो। त्यही दोहोर्याउने काम अहिले भयो।गुठी भन्ने कुरा फेरि हाम्रो हरेक व्यवहारमा जोडिएको छ। अहिले पनि गुठीको काम भनेपछि हरेक घरबाट मानिस जानै पर्छ। खटिनै पर्छ। जुद्धशमसेरको पालामा शान्त भवन र सुरेन्द्र भवन बनाउने बेला हाम्रो ‘मुर्दा गुठी’ खटिएको थियो। म संलग्न चार-पाँच गुठीमध्ये ‘मुर्दा गुठी’ पनि एक हो। यसले कुनै पनि गुठियारको मरणपरणमा सम्पूर्ण व्यवहार सम्पन्न गरिदिन्छ। सबै काम छाडेर भए पनि मलामी जान जम्मा हुनैपर्छ।’मुर्दा गुठी’ जस्तै, अनेक प्रयोजनका बेग्लाबेग्लै गुठी छन्। सबका बेग्लाबेग्लै पूजाआजा हुन्छन्। कतै केही सामाजिक काम गर्नुपरे ‘गुठी उठाउने’ भन्नेबित्तिकै गुठीले नै आएर त्यो काम फत्ते गरिदिन्छ। अहिले पनि त्यो चलिरहेकै छ।अझ हाम्रोभन्दा ज्यापु समुदायको गुठी त अहिले पनि उत्तिकै सशक्त छ। मंका गुठीले बोलायो भने उनीहरू भएभरका सबै काम छाडेर जान्छन्। नभए ‘बँ’ हुन्छ। अर्थात् जरिवाना तिर्नुपर्छ।यस्ता सबै गुठीलाई सरकारको यो कदमले असर पर्छ। गुठी परम्परा चलिरहेको धर्मको आधारमा हो। मानिसलाई धर्मबाट यसरी अलग पार्ने हो भने गुठी मात्र होइन, धेरै कुरामा असर पर्छ। के हाम्रो समाजले त्यो भार बोक्न सक्छ? यो सोच्नुपर्ने कुरा हो।

Related Articles

Back to top button