समाचार

विराटनगर विमानस्थलमा आपतकालीन अवतरण ५४ यात्रु बोकेको विमान मा आगोलाग्यो

विराटनगर / विराटनगर विमानस्थलमा बुधबार एकाबिहानै एक्कासि धुँवाको मुस्लो छुट्यो । भर्खरै अवतरण भएको जहाजमा आगो लागेको थियो । धुँवाको मुस्लोले विमानस्थल वरपर छोपिरहँदा दमकल र एम्बुलेन्स साइरन बजाउँदै घटनास्थलतर्फ हुँकिए । नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी एवं रेडक्रसकर्मीहरु त्यतै दौडिए । दमकलले जहाजमा लागेको आगो निभाउन थाले । उद्धारकर्मीले घटनामा परेका घाइतेहरुलाई उद्धार गर्दै एम्बुलेन्समा राख्न थाले । एम्बुलेन्स साइरन मार्दै घाइते बोकेर अस्पतालतर्फ दौडिए । वरपरका सबै अचम्मित हुँदै त्रासपूर्ण रुपमा घटना हेरिरहेका थिए । काठमाडौंबाट हिमालय उडानका लागि गएको ३०१ कल साइन भएको अरनिको एयरलाइन्सको जहाज ईन्जिनमा खराबी आएपछि विराटनगर विमानस्थलमा अवतरण गर्नु पर्ने अवस्था आएको हो ।आपतकालीन अवतरण गराउँदा हुन सक्ने जोखिम न्यूनीकरणका लागि विमानस्थलमा सबै कुरालाई तयारी अवस्थामा राखिएको थियो । त्यत्तिकैमा बिहान ८ बजे विराटनगर विमानस्थलमा चालक दलका सदस्यसहित ५४ जना बोकेको जहाजमा अवतरण भएको केही मिनेटमै आगो दन्किएको थियो । धेरै समयमा आगो नियन्त्रणमा आए पनि जहाजको धेरै जसो माग जलिसकेको थियो । दुर्घटनामा चार जना यात्रुको मृत्यु, २० जना गम्भीर एवं १५ जना मध्यम र १५ जना

सामान्य घाइते भएको जानकारी दिइयो । घाइतेहरुको नोबेल शिक्षण अस्पताल र हाम्रो अस्पतालमा उपचार भइरहेको विमानस्थलले जनायो । घटनाका बारेमा ५÷५ मिनेटमै विमानस्थलले जानकारी दिइरहेको थियो ।यो वास्तविक घटना नभइकन जहाज दुर्घटना भएका बेला बढी मात्रामा हुन सक्ने मानविय एवं भौतिक क्षति न्यूनीकरणका लागि गरिएको उद्धारको पूर्व अभ्यास थियो । बिना पूर्व सूचना गरिएको अभ्यासका कारण त्यहाँको वातावरण त्रासपूर्ण बनेको थियो । विमानस्थल वरपरका बासिन्दा भने डराएका थिए । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारी लगायत पूर्व अभ्यास हेर्नका लागि विमानस्थल पुगेका थिए ।विमानस्थलमा संकट योजना पूर्णकालीन अभ्यास गरिएको विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौला बताए । विमानस्थल भित्र जहाज दुर्घटना भएमा त्यसबाट हुने क्षति न्यूनीकरणका लागि उद्धारको स्तर र क्षमतालाई बढाउन यस्तो अभ्यास गर्ने गरिएको उनको भनाइ छ । ‘यस्तो अभ्यासनले हाम्रो स्तर र क्षमता कस्तो छ भन्ने कुराको पुष्टि गर्छ,’ उनले भने, ‘कुनै घटना भइहाले उद्धार क्षमता बढाउन पनि मद्धत गर्छ ।’

Related Articles

Back to top button