अन्तर्राष्ट्रिय

छुट्टीमा घर फर्किएका प्रेमको विमानस्थलमै मृत्यु

छुट्टीमा घर फर्किएका प्रेमबहादुर विमानस्थलमै ढले, कुवेत अस्पतालमा अस्ताए !युएई । साउदीबाट युएई ट्रान्जिट हुँदै नेपाल फर्कने क्रममा सारजा विमानस्थलमा एक नेपालीको मृत्यु भएको छ । छुट्टीमा घर फर्कने क्रममा ताप्लेजुङ चाँगेका ६० वर्षीय प्रेमबहादुर आङबुहाङ लिम्बुको उपचारका क्रममा सारजास्थित अल कुवेत अस्पतालमा मृत्यु भएको हो ।बुधबार एयर अरेबीयामार्फत नेपाल फर्कदै गरेका लिम्बुले सारजा विमानस्थलको प्रतिक्षालयमा अचानक रगतसहितको बान्ता गरेका थिए । त्यसपछि विमानस्थलका कर्मचारीले प्रहरीलाई खबर गरेपछि अस्पताल भर्ना गरिएको थियो । अस्पतालको आइसीयु कक्षमा राखेर उपचार थालिएको थियो ।उनी जण्डिसको संक्रमणले अन्तिम अवस्थामा पुगेको र दुवै मिर्गौला खराब भएको चिकित्सकको रिपोर्टले जनाएको छ । उपचाररत अवस्थामा रहेका लिम्बुको शनिबार मृत्यु भएको सोही अस्पतालमा कार्यरत नेपाली सुरक्षागार्डले जानकारी दिए ।स्वागत गर्न आएका परिवारलाई
मृत्युको खबर:५ वर्षअघि श्रीमतीको निधन भएपछि लिम्बु विदेशिएका हुन् । उनका दुई छोरीमध्ये जेठी छोरीको गतसाल निधन भएको थियो । साउदीमा घरेलु

कामदारका रुपमा कार्यरत लिम्बु पहिलोपटक विदामा घर फर्कदै थिए ।असार ४ गतेको आफ्नो फ्लाइट रहेको र ५ गते काठमाडाैं आइपुग्ने परिवारलाई खबर गरेका थिए । सोही अनुसार परिवारका सदस्य उनलाई लिन विमानस्थल पुगे । तर, ५ गते उनी नपुगेपछि खोधिखोजी सुरु भयो ।काठमाडाैंमा रहेका भतिज पर्शुराम आङबुहाङ लिम्बुले युएईमा कार्यरत लंक आङबुहाङलाई उनका बारेमा जानकारी गराए । लंक प्रेमबहादुरका छिमेकी हुन् ।सारजा विमानस्थलमा ट्रान्जिटमा परेकाले त्यहीँबाट उनका बारेमा जानकारी प्राप्त भयो । उनी अस्पताल भर्ना भएको खबर पाएपछि ताप्लेजुङ सेवा समाज र संघीय लिम्बुवान सामाजिक मंच युएईका प्रतिनिधिले अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । तर, उपचाररत अवस्थामा रहेका लिम्बुको शनिवार बिहान मृत्यु गएको थियो ।अस्पतालमा कार्यरत नेपाली सुरक्षागार्डले खबर पाए लगतै शनिबार साँझ आफन्तलाई खबर गरेका हुन् । उनको शव पोष्मार्टमका लागि राखिएको छ ।शव नेपाल फर्काउनका लागि आइतबार दूतावासलाई जानकारी गराउने र थप समन्वय गर्ने ताप्लेजुङ समाजसेवा युएईका महासचिव भवानी लिम्बुले जानकारी दिए । मृतक लिम्बुकी कान्छी छोरी विवाह भइ हाल इलाममा बस्दै आएकी छिन् ।

Related Articles

Back to top button