समाचार

देशभर विपद।६ को मृत्यु, पाँच जना बेपत्ता

काठमाडौँ । सक्रिय बर्षासँग देशभर विपदका घटना बढ्न थालेका छन् । शुक्रबारदेखिकै लगातारको वर्षाका कारण देशका अधिकांश स्थानमा बाढी, पहिरो र डुबानको समस्या देखिएको छ ।

वर्षाले सर्वसाधारणको जनजीवन प्रभावित मात्र बनाएको छैन बाढी, पहिरो र डुबानका कारण धनजनको क्षति समेत शुरु भएको छ ।

हालसम्म मुलुकका विभिन्न ठाउँमा ६ जनाले ज्यान गुमाएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार बनेपा–३, नालामा भूकम्प पीडितको घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दङ्गाल र ७ वर्षीय सोहनी दङ्गाल छन् ।

घटनामा बुहारी ३० वर्षीया सुशीला र तीन महिने नातिनी अनुश्का घाइते भएका छन् । रामेछापमा पनि पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।

भोजपुरमा पनि पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् ।
टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको स्थानीय अनिलकुमार राईले जानकारी दिएका छन् ।

यता लगातारको वर्षापछिको बाढी पहिरोमा परेर देशभर पाँच जना बेपत्ता भएका छन् । खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एक व्यक्ति घाइते हुनाका साथै तीन बेपत्ता भएका छन् ।

चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते छन् भने उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका हुन् ।

आज बिहान करीब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको विष्णुका दाजु श्यामले बताए । ‘पहिरोले घर बगाउना साथ स्थानीयवासीले भाइ विष्णुलाई घाइते अवस्थामा उद्धार गरेका रहेछन्’ उनले भने । यता पाँचथरमा एक स्कुले बालकलाई खोलाले बगाएको छ । पाँचथर रवीका दियान राईलाई स्कुल जाँदै गर्दा खोलाले बगाएको हो । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button