अन्तर्राष्ट्रिय

राजधानीमा निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान

एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा रहेको एउटा निर्माणाधीन भवनमा सुरक्षाकर्मी र सम्भावित तालिवान विद्रोहीबिच दोहोरो गोली हानाहान भएको छ । उक्त विद्रोही समूह एक निर्माणाधीन भवनमा छिरेको र सोही स्थानमा सुरक्षाबल र आतंककारीबीच दोहोरो हनाहान भएको हो ।आतंककारीले विस्फोटक पदार्थ बोकेको एक कारलाई विस्फोटन गराएको पनि प्रत्यक्षदर्शीले जानकारी दिएका छन्। निर्माणाधीन भवनमा दोहोरो गोली हानाहान भएको र केही समयपछि सुरक्षा अधिकारीले सो स्थानमा पुगेका र स्थिति नियन्त्रणमा लिएको जनाइएको छ। आक्रमण भएको त्यस स्थानमा सुरक्षा अधिकारीहरुले नियन्त्रणमा लिएर घेरा लगाएको र पत्रकारहरुलाई समेत त्यहाँ जान रोक लगाएको छ। आक्रमण र यसपछिको अवस्थाको प्रहरी हालसम्म तालिबान समूहले केही टिप्पणी गरेको छैन। घाइतेमध्ये कैयौंको अवस्था चिन्ताजनक भएको र मृतकको सङ्ख्या बढ्न सक्ने पनि आशंका गरिएको छ। समाचारको विस्तृत विवरण आउन अझै बाँकी रहेको छ।

त्यस्तै सुपुर्दगीसम्बन्धी प्रस्तावित विधेयकको विरोधमा हङकङमा फेरि प्रदर्शन चर्किएको छ । प्रदर्शनकारीहरु हङकङको संसद् भवनभित्रै छिरेका छन् । संसद् भवनभित्र प्रवेश गरेका प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ । दर्जनौं प्रदर्शनकारी जबरजस्ती संसद् भवनभित्र छिरेर भवनको झ्यालका सिसा फुटाइदिएका छन् । उनीहरुलाई संसद् भवनबाहिर प्रदर्शन गरिरहेकाहरुले साथ दिएका थिए । प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्याससमेत प्रहार गरेको थियो ।

निकै कडा परिश्रमपछि मात्रै प्रहरीले प्रदर्शनकारीहरुलाई धपाउन सफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि प्रदर्शनकारीहरु संसद् भवनभित्र प्रवेश गरेर केही घण्टा बसेका थिए । बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेको २२ औँ वार्षिकोत्सव मनाइँदै गर्दा उनीहरु संसद्भित्र छिरेको बताइएको छ । तर मध्यरातसम्म प्रदर्शनकारीहरु बाहिर ननिस्किएपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ । सरकारले विधेयक अनिश्चितकालका लागि स्थगित गरेको घोषणा गरे पनि प्रदर्शनकारीहरुले त्यसको खारेजी र प्रमुख कार्यकारी क्यारी लामले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

Related Articles

Back to top button