समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट खुसिको खबर

काठमाडौँ — नौवटा मात्रै ठूला जेट विमान पार्किङ गराउने क्षमता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबारदेखि दुईटा पार्किङ-वे थपिएका छन् । एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलले अबदेखि ११ वटा जेट विमान पार्किङ गराउन सक्ने भएको छ ।

‘मंगलबारदेखि दुईटा पार्किङवे थप भएका छन्,’ विमानस्थलका महाप्रबन्धक राजकुमार क्षत्रीले भने, ‘दुईटा वाइडबडी र एउटा एटीआर विमान पार्किङ गर्न सकिन्छ।’ विमानस्थलले थपेका दुईटा पार्किङ धावनमार्गको पूर्वी भागमा छन्। पार्किङ क्षेत्र थपिएपछि अब ठूला जहाजलाई आकाश र धावनमार्गसँगैको ट्याक्सी-वेमा होल्ड गर्नुपर्ने बाध्यता कमी हुने क्षत्रीले बताए।

मंगलबार अघिसम्म यस विमास्थलको तीनवटा वाइडबडी र ६ वटा न्यारोबडीसहित नौवटा विमान पार्किङ मात्र क्षमता थियो। विमानस्थल व्यवस्थापनले यी दुई पार्किङमा यात्रु ह्याण्डलिङ्ग नगर्ने जनाएको छ। ‘नेपाल वायुसेवा निगमका विमान प्रायः उड्दैनन्। बिहान आउँछन्। दिनभर पार्किङ ओगट्छन। यीनले अबदेखि नयाँ पार्किङवेमा सार्ने छौं।’

विमानस्थल व्यवस्थापनले १६ महिनाअघि पार्किङवे बनाउन ठेक्का आव्हान गरेको थियो। तर, ४५ करोडको ठेक्काको कार्य बीचमा रोकिएको थियो। पर्यटनमन्त्री रविन्द्र अधिकारी सक्रिय भई तारन्तार लागेपछि ८ महिनाअघिदेखि पार्किङवे निर्माण कार्य पुन: सञ्चालन भएको थियो। ‘मन्त्री अधिकारी सक्रिय भइदिनाले यो कार्य फटाफट सकियो,’ महाप्रबन्धक क्षत्रीले भने।

विमानस्थलमा अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्ने अन्य वे अन्तर्गत आन्तरिक टर्मिनलतर्फ १७ वटा साना विमान र उत्तरपश्चिमको हेलिप्याडमा १७ वटा हेलिकप्टर पार्किङ गराउन सकिने दुईटा पार्किङ पनि छन्। तर, आन्तरिकको पार्किङवेमा ३७ वटासम्म जहाज र हेलिप्याडमा २५ वटासम्म हेलिकप्टर राख्नुपर्ने बाध्यता छ। यस विमास्थलबाट सन् २०१८ मा १ लाख २९ हजार उडान भएका थिए। जस्मा ७१ लाख यात्रुले सेवा लिएका थिए।

Related Articles

Back to top button