समाचार

काठमाडौं जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा २६ जना बेपत्ता

धादिङ । सर्लाहीबाट काठमाडौं जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीन जनाको मत्यु भएको छ भने १६ को जीवितै उद्धार गरिएको छ । बसमा सवार २६ जना अझै बेपत्ता रहेको बताइएकाे छ । तर बसभित्र कोही पनि नभेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । अहिले बसलाई क्रेनले तानेर निकालिएको छ । कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोर टिमले बेपत्ताको खोजीकार्य जारी राखेकाे छ ।मृतक तीनमध्ये २ जनाकाे सनाखत भएकाे छ । सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै सनाखत भएको हाे । एक जना मृतको भने सनाखत हुन सकेको छैन ।जीवितै उद्धार गरिएकामा भुपेन्द्रकुमार यादव, अनिष राय, सुनिता रोकाया, शिखरकुमार महतो, राकेश बैठा, सञ्जय महतो, जहेन्दर ठाकुर, रोहितकुमार मण्डल, शमिमराजा अन्सारी, धीरेन्द्र ठाकुर, चालक लक्ष्मण जमरकट्टेल, विजयराय यादव, दिनेश ठाकुर, भोगेन्द्र चौधरी रहेका छन् । उद्धार गरिएका मध्ये बसचालक जीवन भनिने लक्ष्मण जमरकट्टेल बेहोस छन् भने सहचालक प्रमोद चौधरी र कन्डक्टर ऋषि उप्रेतीलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

मलंगवा–९ स्थित रहेको सृष्टि बस काउण्टरमा अहिले बसमा सवार यात्रीका आफन्तको भीड लागेको छ ।

बसमा सवार हुनेहरुमा विष्णु गाउँपालिकाका खुश रञ्जन, कौडेना गाउँपालिका शिवनगरका मोहम्म मतलुङ, लक्ष्मीपुरका मनिष रायसहित दुई जना, कविलासी नगरपालिका अगर्वाका नवीनकुमार महतो, चक्रघटा गाउँपालिका बेल्हीका राकेश राउत, औरहीका रवि कुमार तीन जना, भारत मुज्जफरपुरका आशिष कुमारसहित दुई जना, मलंगवा नगरपालिका गम्हरियाका दिनेश ठाकुर, भारतका पर्सामोडका धीरेन्द्र शर्मा, भारतका अररियाका दिलीप दाससहित तीन जना, ब्रम्हपुरी गाउँपालिका त्रिभुवनगरका राजनारायण रौनियारसहित चार जना, मलङ्गवाका सञ्जीव चौधरी, अरिवन्द सिंह अनिष राय, भुपेन्द्र कुमार, रोहित शमिम, सुशील श्रीवास्तव, अनिल, मलङ्गवा गणेशियाका भाग्यनारायण महतोसहित तीन जना, भारतको लरकवाका रामबाबु यादवसहित तीन जना, भारत कुवारीका अजय ठाकुरसहित दुई जना र हरिपुर नगरपालिकाका योगेन्द्र चौधरी र अमित लामा रहेकाे बस काउन्टरकाे जानकारीबाट थाहा हुन आएकाे छ ।

Related Articles

Back to top button