समाचार

रवि लामिछानेले कांग्रेस बाट राजनीति गर्ने

काठमाडौं । चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछाने अब राजनीतिक जीवनमा प्रवेश गर्ने भएका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसमा प्रवेश गरी त्यसैमार्फत रवि राजनीतिमा लाग्नसक्ने उनी निकट स्रोत बताउँछ ।

पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिनसम्म प्रहरी हिरासतमा बसेर सोमबार रिहा भएका लामिछानेले राजनीतिमा कदम राख्ने संकेत गरिसकेका छन् । मंगलबार बिहान पत्रकार सम्मेलन गर्दै रविले आफ्नो प्राथमिकता पत्रकारिता भएपनि राजनीति गर्ने विकल्प खुला रहेको बताए ।

राजनीति गर्ने सम्भावनाको ढोकामा चुकुल मात्र लागेको, तर ताल्चा नलागेको बताएका लामिछानेले चितवनमा आयोजित पत्रकार सम्मेलनमा सकेसम्म आफुले राजनीतिक दल र तिनका नेताहरुलाई जिम्मेवार बनाउन लागिपर्ने जनाए ।

आफु बेथिति र बिसंगतीलाई पर्दाफास गर्न सञ्चारकर्मबाटै लागिपर्ने, तर कुनै हालतमा अवस्था नसुध्रिएचाहिँ राजनीति गर्ने विकल्प रहेको रविले बताएका छन् ।

गिनिज बुक अफ वल्र्ड रेकर्ड हुँदै सिधा कुरा प्रधानमन्त्रीसँग र पछि सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन गरिरहेका रवि आम नागरिकका बीचमा निकै लोकप्रिय छन् ।

सार्वजनिक सेवा, वैदेशिक रोजगार, पारदर्शीता र विभिन्न आम सरोकारका विषयमा निकै गहिरो अध्ययन र अनुसन्धान गरी प्रमाणसहित कार्यक्रम प्रस्तुत गर्ने रविको कामलाई निकै मानिसहरुले मन पराएका छन् ।

रवि निकट स्रोतले भन्यो : ‘उहाँ कांग्रेसमा जानुहुन्छ’

शालिकराम पुडासैनीको आत्महत्या काण्डमा प्रहरी हिरासत पुगेका लामिछानेविरुद्ध यो पटक सत्तारुढ (ने.क.पा.) का कार्यकर्ताहरु निकै खनिए ।

बहुमतको संसदीय शक्तिसहित सत्ता चलाएपनि कामभन्दा कुरा बढी गर्ने र अन्ततः जनतालाई निराश बनाउने काम गरिरहेको सत्ताधारी दल नै आफुलाई फसाउन लागिपरेको र सो दलका कार्यकर्ताहरुले निकै अभद्ररअपाच्य प्रतिक्रिया दिएको जानकारी पाएका रवि अब प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाटै राजनीति गर्ने मनस्थितिमा देखिएका छन् ।

रवि निकटस्थहरुका अनुसार राजनीति नै गर्नुपर्ने अवस्थामा रवि कांग्रेसमै प्रवेश गर्नेछन् । ‘अहिले नै राजनीतिक मैदानमा प्रवेश गरिहाल्ने मनस्थिति देखाउनुभएको छैन’ लामिछानेका एकजना निकटस्थले भने ‘तर शालिकरामको आत्महत्यालाई लिएर आक्षेप लगाउने र जेलमै सडाउने षडयन्त्रमा (ने.क.पा.) नेतृत्वको सरकार सामेल भएकाले उहाँ लोकतान्त्रिक पार्टी कांग्रेसबाटै राजनीतिमा होमिनुहुनेछ ।’ source:nepalpana

Related Articles

Back to top button