समाचार

गृहमन्त्रालयले स्पष्टिकरण सोधेपछि आईजिपी खनाल तनावमा

काठमाडौं /
हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई मन्त्रालयको पूर्व स्वीकृति बिना भेट गरेको विषयमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनाललाई गृहले स्पष्टिकरण लिएपछि उनी तनावमा परेका छन् ।गत हप्ता प्रधानमन्त्री कार्यालयको चासोपछि गृहले आईजिपी खनाललाई मन्त्रालयमै बोलाएर स्पष्टिकरण सोधेको थियो । यो कुरालाई आधिकारीक हिसाबले सार्वजनिक नगरिए पनि सूचना भने बाहिर आएको छ ।गृह स्रोतका अनुसार सुरक्षा संवेदनशिलता र सुरक्षाकर्मीको मनबोल गिर्न नदिन गृहले आन्तरिक र गुपचुप ढंगले स्पष्टिकरण लिएको थियो । सिंगापुर उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समेत टेली कन्फरेन्स बैठकमा चासो देखाएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्पष्टिकरण सोध्ने टुंगोमा पुगेका थिए । सुरुमा लिखित स्पष्टिकरण लिने तयारी भएपनि अन्तिममा आएर गृहमन्त्री थापा र गृहसचिव प्रेमकुमार राईबीच छलफल भई आईजिपी खनाललाई मन्त्रालय बोलाएर मौखिक स्पष्टिकरण सोधिएको थियो ।मौखिक स्पष्टिकरण लिने क्रममा मन्त्री थापा र सचिव राईले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानमा रहेका व्यक्तिलाई

हिरासतमा गएर किन भेटेको हो ? भेट्नुको औचित्य के हो ? त्यसबारे गृहमन्त्रालयबाट पूर्व स्वीकृत लिनुपर्छ कि पर्दैन ? हिरासतमा रहेको व्यक्तिलाई भेट्दा त्यसको समग्र कस्तो असर पुग्छ भन्ने ध्यान किन नदिएको ? जस्ता विषयहरुमा प्रश्न राखेका थिए ।त्यसको प्रति उत्तरमा आईजिपी खनालले हिरासतमा रहेका लामिछानेलाई भेटेको स्वीकार गर्दै भेटेको केबल उनलाई सुरक्षाको कुनै थ्रेट छैन र प्रहरीको अनुसन्धानलाई सघाउनु भन्नका लागि मात्र रहेको जिकिर गरेको गृह स्रोतले बताएको छ ।त्यस्तै खनालले उक्त प्रशंगमा भेटे गर्नुमा आफ्नो कुनै दुरनियत र पूर्व योजना नभएको पनि दाबी गरेका थिए । यसअघि प्रधानमन्त्री कार्यालयले हिरासतमा रहेका लामिछानेलाई भेटेको समाचारका विषयमा प्रधानमन्त्री कार्यालयको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै आईजिपीले लामिछानेलाई भेटे नभेटेको र भेटेको भए गृहबाट स्वीकृती लिए नलिएको तथा कुनै योजना मुतावित हो कि भन्दै चासो लिएको थियो । त्यसपछि मात्रै गृहमन्त्री र सचिवले आईजिपी खनालसँग स्पष्टिकरण लिएका थिए ।

गृहमन्त्रालयलाई जानकारी नै नदिइ नेपाल प्रहरीका प्रमुख आईजिपी खनाल आन्तरिक कामका लागि भन्दै चितवन पुगेर लामिछानेलाई भेटेको समाचार बाहिरिएको थियो । आफ्नो क्षेत्र छोर्दा कार्यालय प्रमुखले आफूभन्दा माथिल्लोको निकाय प्रमुखलाई जाहेर गर्नुपर्ने नियम प्रहरीमा छ तर, आईजिपी स्वयमले यसलाई तोडेर हिरातमा रहेका लामिछानेलाई भेट्नु सुरक्षा र आचार संहिता विपरित काम भएको एक पूर्व आईजिपीले बताए ।आईजिपी खनालले भने हिरासतमा रहेका लामिछानेले आफू असुरक्षित रहेको खबर बाहिर आएपछि हिरातमै उनलाई भेटेर सुरक्षाको चिन्ता नलिन आश्वासन दिएर समय र परिस्थिति काबु बाहिर नजाओस् भन्ने आफ्नो पवित्र उद्देश्य रहेको स्पष्टिकरण दिने क्रममा दाबी गरेका छन्गृहले स्पष्टिकरण सोधेको समाचार बाहिरिएसँगै तनावमा परेका आईजिपी खनालले भने उक्त विषयमा सत्यता नरहेको बताउँदै हिडेका छन् ।गृहले स्पष्टिकरण सोधेको विषयमा गृहमन्त्रालयका अधिकारीहरु बोल्न रुचाउँदैनन् । द नेपालटपले गृहप्रवक्ता रामकृष्ण सुवेदीसँग सम्पर्क गर्दा आफूलाई यस विषयमा जानकारी नभएको बताए । उनको यो भनाइ बाट पनि स्पष्ट हुन्छ कि गृहले आईजिपीलाई स्पष्टिकरण सोधेको छ तर, त्यो कुराको सार्वजनिक गर्न चाहादैनन् । त्यस्तै गृहमन्त्रालयका सूचना अधिकारी एवं उपसचिव उमाकान्त अधिकारीले पनि यस विषयमा थप बताउन चाहेनन् ।

Related Articles

Back to top button