समाचार

चाडपर्वको मुखमा गाडी भाडाभन्दा पनि सस्तो भयो हवाई भाडा,

काठमाडौं ।
काठमाडौंदेखि पोखरा जानका लागि सामान्य माइक्रोमा ५ सय रुपैयाँ लाग्छ । झण्डै ५ घण्टाको यात्रामा खाना/खाजालाई हिसाब गर्ने हो भने ७ सय पुग्न सक्छ ।सोही रुटमा आरामदायी यात्रा गर्ने हो भने ५ गुणा महंगो पर्छ । काठमाडौं-पोखराको सडक रुटमा पोखरा जगदम्बा ट्राभल्सले लग्जरी बस सञ्चालन गर्छ ।जसमा नेपाली नागरिकका लागि २२ सय रुपैयाँ र विदेशीलाई २७ सय रुपैयाँ लिएर सेवा दिइरहेको छ ।जसमा चिया, कफी र लञ्च पनि समावेश गरिएको हुन्छ । जगदम्बाले सुविधायुक्त र आरामदायी सेवा दिइरहेको समयमा विलासी मानिने हवाई यात्रा भने त्योभन्दा सस्तो देखिएको छ ।

अहिले विमान कम्पनीहरुले काठमाडौं-पोखराका लागि एकतर्फी यात्रा जम्मा १७ सय रुपैयाँमा उडान गरिरहेका छन् । जुन लग्जरी बसको तुलनामा ५ सय रुपैयाँ सस्तो हो । एयरलाइन्सको संख्या र उडानसँगै बढेसँगै यात्रु आकर्षित गर्नका लागि हवाई कम्पनीहरुले सस्तो भाडामा यात्रु उडाउन थालेका हुन् ।

हवाई क्षेत्रमा सबैभन्दा अग्रणी कम्पनी बुद्ध एयरले आन्तरिकतर्फ दैनिक दुईतर्फी उडानको संख्या ११० छ । बुद्ध एयरका बजार व्यवस्थापक रुपेश श्रेष्ठका अनुसार यात्रुलाई आकर्षित गर्नका लागि भाडा सस्तो भएको हो । तर निकै सस्तो भने होइन । उनले भने, ‘अहिले पनि हामीसँग ९२ प्रतिशत अकुपेन्सी छ, अन्य एयरलाइन्समा पनि ९० भन्दा माथि नै अकुपेन्सी छ, भाडा अलिकति मात्रै बढाउने हो भने यो प्रतिशत कम हुन्छ ।’

बुद्ध एयरले ११० उडानबाट ५५०० सिट क्षमतामा ९२ प्रतिशत अकुपेन्सीमा उडान गरिरहेको छ । श्रेष्ठले सम्पूर्ण बजारको ५५ प्रतिशत हिस्सा बुद्ध एयरले लिएको समेत दाबी गरे । उनले भने, ‘ट्रक रुटमा बुद्ध एयरले ५५ प्रतिशत बजार हिस्सा ओगटेको छ भने बाँकी ४५ प्रतिशत हिस्सा अन्य एयरलाइन्सको छ ।’

कुन रुटमा कति छ भाडा ?

राजधानीदेखि नजिक पर्ने पर्यटकीय नगरी पोखरामा एकतर्फी भाडा न्यूनतम १७०० रुपैयाँमा विमानहरुले यात्रु बोकिरहेका छन् । भने यो रुटमा अधिकतम भाडा ५०५० रुपैयाँ छ ।भैरहवाका लागि अहिले विमानहरुले २५०० रुपैयाँसम्ममा उडान गरिरहेका छन् । जबकी अधिकतम भाडा ६२०० रुपैयाँसम्म लिँदै आएका छन् ।त्यस्तै, विराटनगरका लागि अहिले विमान कम्पनीहरुल २६०० रुपैयाँसम्ममा टिकट बिक्री गरेका छन् भने अधिकतम ७६०० रुपैयाँसम्म तोकिएको छ ।धनगढीमा १२७०० रुपैयाँसम्म अधिकतम मूल्यमा टिकट बिक्री गर्ने विमान कम्पनीहरुले ५५०० रुपैयाँसम्ममा समेत टिकट बिक्री गरिरहेका छन् ।

त्यसतै, नेपालगञ्जको हकमा १० हजार रुपैयाँसम्म अधिकतम मूल्यमा टिकट बिक्री गर्ने कम्पनीहरुले अहिले ३३०० रुपैयाँसम्मा पनि यात्रु बोकिरहेका छन् ।
राजधानीदेखि नजिकै रहेको भरतपुरका लागि विमान कम्पनीहरुले सस्तो शुल्कमा २९५० रुपैयाँसम्ममा टिकट बिक्री गरिरहेका छन भने बढीमा ३६५० रुपैयाँसम्म तोकिएको छ ।त्यस्तै, सिमरामा ३१५० रुपैयाँ, भद्रपुरमा ३००० रुपैयाँ र जनकपुरमा २५०० रुपैयाँमा विमान कम्पनीहरुले ४३०० रुपैयाँमा टिकट बिक्री गरिरहेका छन्

Related Articles

Back to top button