समाचार

भेटेको १२ लाख रुपयाँ फिर्ता गरे दुई युवतीले

धरान। आफन्त–छरछिमेकमा उनीहरुको चर्चा निक्कै भयो । सामाजिक सञ्जालमा त झन् प्रसंशाको ओइरो । विभिन्न संघसंस्थाहरुको सम्मान थाप्न पनि भ्याइ नभ्याई भयो उनीहरुलाई । सन्दर्भ हो, बैशाख १६ गते राती सडकमा भेटाएको १२ लाख सम्बन्धित परिवारको खोजी गरेर बुझाउने दुई युवतीको ।

धरान १५ की २२ बर्षीय ज्योति राई र मोरङ उर्लाबारी ८ की २१ बर्षीय सुनिता राईले भेटेको १२ लाख रुपैया फर्काएको खबरलाई शुरुमा धेरैले पत्याउनै सकेनन् । कसैले झुटो खबर भने, त कसैले ऋण फिर्ता गरेको होला पनि भने । लोच लालच, भ्रष्ट, बेइमानी र स्वार्थीपनले जकडिएको नेपाली समाजलाई ‘बाटोमा भेटेको १२ लाख कसैले फर्काउला’ भनेर विश्वास गर्न गाह्रो भयो ।

तर, उनीहरुले बैशाख १८ गते पत्रकारहरुको माझमा सडक दुर्घटनामा ज्यान गुमाएका धरान १७ का ओमबहादुर गेलालको बुबाको हातमा १२ लाख रुपैया जिम्मा लगाएका थिए । सुनिता र ज्योतिलाई भने आफुहरुले त्यस्तो ठुलो काम गरेजस्तो पटक्कै लागेको छैन । उनीहरुलाई लाग्छ, जसको पैसा थियो, उसैको परिवारलाई बुझाइदिएको मात्र न हो ।

‘उहाँहरुको पैसा हो, हामीले कसरी राख्ने ? भेटेदेखि नै फर्काउन पाए हुन्छ भन्ने थियो । ठुलो काम गरेजस्तो लाग्दैन’–नागरिकसँगको भेटमा सुनिताले भनिन् । त्यसो भनेर के गर्नु ? विश्वास हराइसकेको समाजको लागि त उनीहरु उदाहणीय पात्र अर्थात इमान्दरीताको ‘रोल मोडल’ बनिसकेका छन् । त्यसैले, आग्रह टार्न नसकेर अफ्ठ्यारो मान्दै भएपनि सम्मान थाप्न नगई धरै छैन ।

छिमेकी भएर गाँसियो मित्रता

सुनिता र ज्योति दुवैबीच गहिरो मित्रता भएको झण्डै ६ महिना मात्र पुग्न लाग्यो । दुवै जना धरान १५ स्थित मामा चोकका छिमेकी हुन् । तरहरा स्थित ब्राइट फ्युचर इंलिस बोर्डिङ स्कुलमा एकाउण्टेन्ट जागिरे सुनिताको खास घर मोरङको उर्लाबारी हो । माइली दिदी संगीता घरमा एक्लै भएपछि उनी २ बर्षअघि दिदीसँगै बस्न धरान आएकी हुन् ।

उर्लाबारी बहुमुखी क्याम्पसमा अध्ययनरत उनी बी।ए।तेस्रो बर्षको रिजल्टको पखाईमा छिन् । ज्योतिको जन्मथलो भने खोटाङ जिल्ला हो । एसएलसी सकेर उनी उच्च शिक्षाको लागि खोटाङको बाहुनी डाँडाबाट सर्लाही झरिन् । गायन र मिडियामा पनि उनलाई रुचि थियो । प्लस टु अध्ययन गर्दा गर्दै उनले सर्लाहीको एकता एफएममा कार्यक्रम पनि चलाइन् । त्यसैबेला सञ्चारकर्मी उमा सिंहको हत्या भयो ।

उनले पनि सञ्चारक्षेत्र त्यागेर काठमाण्डौं पुगिन् । काठमाण्डांैमा गायनको आधारभुत शिक्षासँगै एक बर्ष साना बच्चाहरुलाई सिकाउने काम पनि गरिन् । गएको बर्ष बैशाखमा धरान १५ का रुपेश राईसँग बिहे भएर आएपछि ज्योति र सुनिता छिमेकी भए । तर, दुवैबीच ढिलो गरीमात्र मित्रता शुरु भयो । ढिलो साथी बनेपनि दुवै घनिष्ट भइसकेका छन् ।

एक अर्काको केही काम पर्दा वा बजार निस्कदा दुवै सँगै हिड्छन् । बैशाख १६ गते राती पनि इटहरीस्थित सुनिताकी फुपुको छोरीको बर्थ डे मनाएर दुवै जना स्कुटरमा घर फर्कदै थिए । विश्वकर्मा मन्दिर केही तल सडकमा मान्छेको भीड थियो । टेम्पो र मोटरसाइकल एकापसमा जुधेको थियो । स्कुटर रोकेर उनीहरु नजिकै पुगे ।

मोटरसाइकलको २ जना र टेम्पोको केही मान्छे घाइते अवस्थामा थिए । ती मध्ये पनि मोटरसाइकलका एक जना अलिअलि मात्र चलमलाउदै थियो । ती सिकिस्त घाइते ओमबहादुर गेलाल थिए । उनीहरु नजिक पुगेर बोलाउन खोजे, ती व्यक्ति बोल्नै सकेनन् । सडक किनारमा २ जना पाको व्यक्ति उभिएका थिए । उनीहरुले चिच्याए,–‘अंकल अन्तिम अवस्था जस्तो छ, चाडै हस्पिटल लैजाउ न ।’

टेम्पोका यात्रु उनीहरु पनि लाचार थिए । बल्ल एउटा भेन रोकियो । घाइतेहरुलाई उठाएर भेनमा हाल्दै गर्दा गेलालको साथबाट कालो ब्याग भुईमा खस्यो । ब्यागबाट ५ सय नोटको एउटा बिटा बाहिर निस्कियो । उनीहरुले पैसा र ब्याग उठाए । घाइते गेलालको मान्छे कोही छ कि भन्दै भेनमा सोधे ।

उनीहरु टेम्पोको घाइते रहेछन् । ति मान्छेले ‘ब्यागमा प्रमाण होला, आफन्तलाई भेटेर देऊ’ भने । भेन अस्पतालतिर हुइकियो । उनीहरु पनि घरतिर लागे । घर पुगेपछि दुवैले सुनिताकी दिदी संगीतलाई घटनाबारे सुनाए । उनीहरुले झोला खोलेर हेरे, पैसाको बिटाले भरिएको । तीनै जना डराए । बाँझगरा सामुदायिक वन समुहका पुर्वअध्यक्ष टिका पाख्रिनको घर नजिकै थियो ।

उनीहरुले पाख्रिनलाई बोलाएर बेलीविस्तार सुनाए, र पैसा फिर्ता गराउन सहयोगको आग्रह गरे । पाख्रिन राती नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुगे । घाइते गेलालको देहान्त भइसकेको थियो । परिवारजनसँग भेट हुन सकेन । उनी घर फर्किए । पैसाको बिटा भएको ब्याग फर्काउन नपाएपछि उनीहरु रातभरि डरले सुत्नै सकेनन् । ब्यागमा कति पैसा छ भनेर गनेनन् पनि ।

‘अरुकै पैसा हो, कति छ भन्ने पनि थाह थिएन । के गर्ने होला भनेर डरले रातभरि सुत्न सकेनौ’–ज्योतिले भनिन्–‘पैसा नबुझाउदासम्म पनि छटपटि भइरह्यो, खाना पनि खाएनौं ।’ भोलीपल्ट बिहानै ५ बजेतिर चारै जना बीपी प्रतिष्ठानको आकस्मिक कक्ष पुगे, तर मृतक गेलालको मान्छे भेट्न सकेनन् । पाख्रिनले धरान १७ स्थित उदय सामुदायिक वन समुहका अध्यक्ष मिन सुनुवारलाई सम्पर्क गरे ।

उनी गेलालको मलामी गएर चतराबाट फर्कदै थिए । छोराको मृत्युसँगै साथमा भएको लाखौं रुपैया नभेटिदा शोकमा डुबेको गेलाल परिवारलाई सुनुवारले नै राहत दिने खबर दिए । पाख्रिन र सुनुवारको समन्वयमा गेलाल परिवारसँग ज्योति र सुनिताको भेट भयो । घरमा पुगेर साँझमा उनीहरुले झोला जिम्मा लगाए । मृतक गेलालले १४ लाख झिकेकोमा २ लाख इटहरीमा बुझाएका रहेछन् ।

पैसा गन्दा ठ्याक्कै १२ लाख रुपैया थियो, एक रुपैया पनि फरक परेन । साथमा १ करोड ३२ लाख उल्लेख भएको पासबुक पनि बुझाइदिए । ‘लाखौं रुपैया आफुसँग राख्दा बहिनीहरुले असुक्षित महसुस गरेका थिए, सम्बन्धित परिवारले पैसा अपुरो छ भनेर बुझिदिएन भने के गर्ने भनेर पनि ज्योति र सुनितालाई त्यसबेला निक्कै तनाव थियो ।

पाख्रिनले त्यसक्षण सम्झदै भने–‘पैसाबारे प्रहरीले अनुसन्धान गर्न लैजाला भनेर पनि डर थियो, तर जब सम्बन्धित परिवारलाई भेटेर पैसा बुझायौं, १ रुपैया पनि तलमाथि भएन । अनि ढुक्क भयौ

Related Articles

Back to top button