समाचार

गणतन्त्रमाथि को-को बाट खतरा

गणतन्त्रमाथि को-को बाट खतरा
रिपोर्टर्स नेपाल विश्लेषण । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा कमै बोल्छन् । उनले बुधबार सनसनीपूर्ण भाषण गरे त्यो पनि राजाधानीस्थित पद्मकन्या क्याम्पसमा । उनले गणतन्त्रमाथि खतरा आएको बताए । देशमा गणतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निभाएको नेपाली काँग्रेसको सभापतिको भनाई त्यसै आएको होइन ।गणतन्त्र स्थापनाका लागि एक दशक सशस्त्र जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहविरुद्ध कडा अभिव्यक्ति दिन थालेकाछन् । पूर्व राजालाई नागार्जुनबाट हटाउने देखि गणतन्त्रमाथि चुनौती दिनेहरुको प्रतिवादन गर्न समेत भनेका छन् । नेकपाकै अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राजा फर्काउन खोज्नेहरुलाई चेतावनी दिएका छन् ।पाका कम्युनिष्ट नेता चित्रबहादुर केसी देखि बुद्धिजीवीहरु सम्मले गणतन्त्रमाथि खतराको कालो बादल मडारिएको बताइसके । यो पक्कै त्यतिकै भनिएको होइन ।

यी अभिव्यक्तिहरु यति बेला आइरहेका छन् जतिबेला राजनीतिक दलहरुप्रति जनतामा वितृष्णा बढ्दै गएको छ । महङ्गीले चुचुरो छोइसकेको छ । जताततै करको मारमा परेका छन् जनता । परिवर्तनको नाम भाकेर मात्र जनता सन्तुष्ट हुँदैनन् । अहिले परिवर्तनको नाम लिंदै जनतालाई निचोर्ने गतिविधि भइरहेको छ । यसबाट उत्पन्न असन्तुष्टी व्यवस्थाविरुद्धकै असन्तुष्टि बन्नसक्ने खतरा बढेको छ ।जतिसुकै चेतावनी दिएपनि पूर्व राजालाई विना सक्रियता लाभ पुगिरहेको छ । उनी अहिले चुपचाप छन् । तर, उनीप्रतिको सहानुभूती बढ्दो छ । यसका पछाडि उनका कुनै लोकप्रीय देन होइन बरु सत्तामा बसेकाको गलत गतिविधि कारण हो ।दुरदराजका गाउँसम्म जनता महङ्गीको मारमा मात्र परेनन् आफूले निर्वाचित गरेका जनप्रतिनिधिको शोषणमा परे । उर्लाबारीमा जनप्रतिनिधि लड्दा दुई महिनासम्म जनताको नागरिकता समेत बनेन । जनप्रतिनिधिहरु कोही विगतमै स्रोत दोहोन गर्ने ठेकेदार थिए त कोही पछिल्लो समय ठेकेदारमा परिणत भएका छन् । विकसित घटनालाई सर्वसाधारणले नजिकबाट नियालिइरहेका छन् ।

संघीयताबाट के के नै दिउँला जस्तो गरेपनि आखिर महङ्गी र करको भारी बोकाएको जगजाहेर भइसकेको छ । जतिसुकै अधिकारको कुरा गरेपनि खुकुरीको चोट अचानेलाई थाहा हुन्छ । जनता अचानो बनाइएका छन् र शासनसत्तामा बस्नेहरु खुकुरी । चोट जनताले खाएका छन् ।वितृष्णा यो हदसम्म बढिसकेको छ कि जनता कोही आओस् र नयाँ परिस्थिति निर्माण गरोस् भन्नेमा पुगिसके । कतिपयलाई परिवर्तनका लागि सडकमा आउनु पछुतो भइसकेकोछ । यसका पछाडि राजनीतिक दलका नेताहरुको अपरिपक्व र अदुरदर्शी गतिविधि कारण बनेको छ ।मङ्गले आफ्नै ढंगले जस्तै भएको छ । तर, नेताहरु प्रतिगामी र प्रतिक्रियावादी सक्रिय हुनथाले भन्दै चिच्याइरहेछन् । सत्ता नेताहरुको हातमा छ । जो सत्ताबाहिर छन् उनीहरु ज्नतामा बढ्दो असन्तुष्टिबाट आफै माहोल बन्नेमा ढुक्क छन् । परिस्थिति त्यस्तै बन्दै गएको छ ।

देशमा वितृष्णा कति बढिसकेको छ भन्ने तथ्य रवि लामिछाने प्रहरी हिरासतबाट छुट्दा चितवनमा ओइरिएको भीडबाट बुझ्न सकिन्छ । ज्ञानेन्द्र शाहीले मन्त्री योगेश भट्टराईलाई अराजक व्यवहार देखाउँदा उनकै पक्षमा महोल देखिएको तीतो सत्य हो । सत्ताको विरोध गर्नेहरु रातारात नायक जस्तै भएका छन् । भलै यो क्षणिक किन नहोस् ।यी विकसित घटनाक्रम केलाउँदा नेपालमा गणतन्त्र भर्सेस राजसंस्थाको परिस्थिति निर्माण हुने त होइन ? राजनीतिक रङ्गमञ्चमा कमल थापाले सबै हटाउने प्रजातन्त्रको बहस छेडिसकेका छन् । यो सफल हुने नहुने अलग विषय हो तर देश यही महोलतर्फ बढ्न खोज्दैछ । धर्मनीरपेक्ष र हिन्दु राष्ट्र वा धार्मिक स्वतन्त्रताको बहस पेचिलो भइसकेको छ । अब कसैले यसलाई बेवास्ता गरेर जाने अवस्था नबन्न सक्छ । दलहरुभित्र यो बहसको आगो भित्र भित्र सल्किसकेको छ ।

Related Articles

Back to top button