समाचार

अन्तत: दिलिपसिंह विष्टविरुद्ध नै किटानी जाहेरी

काठमाडौं । १३ वर्षीया किशोरी निर्मला पन्त प्रकरणमा निर्मलाकी आमा दुर्गादेवी पन्तले दिलिपसिंह विष्टविरुद्ध किटानी जाहेरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा उनले गत भदौ २२ गते नै किटानी जाहेरी दिइसकेकी भएता पनि प्रहरीले अझैसम्म विष्टलाई नियन्त्रणमा लिएर अनुसन्धान थाल्नु त कता हो कता सूचना समेत लुकाउने प्रयास गरेको छ ।

प्रहरीले एक वर्षअघि पत्रकार सम्मेलन गर्दै विष्टले नै घटना गराएको दाबी गरेको थियो । त्यतिबेला निर्मलाकी बुबाआमाले पनि दिलिपसिंह विष्ट नै संलग्न रहेको शंका व्यक्त गरेका थिए । अहिले भने दिलिपको व्यवहार र उनका परिवारका सदस्यहरुले बोलेका भिडियो, उनको भिडियोहरु देखिसकेपछि दिलिपसिंहमाथि शंका गर्ने ठूलो आधार भएकाले किटानी जाहेरी दिएकी हुन् ।

उनले दिएकी जाहेरीमा दिलिपले प्रहरी समक्ष दिएको बयानमा २० रुपैयाँ निर्मलाको साथमा फेला परेको, सुरुवाल एकपट्टीको मात्र फुकालेको र माथिको लुगा नफुकालेको, सुरुवाल फाटेको र साइकलको चेन बिग्रेको भन्ने जस्ता व्यहोरा उल्लेख गरेका छन् । यसै कारण किटानी जाहेरी दिइएको उल्लेख गरिएको छ ।

साथै दिलिपको पृष्ठभुमी, उनको बानी व्यवहार तथा न्युज २४ टेलिभिजनको ‘सीधाकुरा जनतासँग’ कार्यक्रममा घटनाको दिन दिलिपलाई त्यँही वरिपरि देखेको बताउने महिलाकोसमेत आवाज प्रशारण भएको, घटनापछि पनि दिलिपले घर अगाडिबाट हिँड्दा असामान्य व्यवहार देखाउने गरेका कारण दिलिपले नै निर्मला पन्त प्रकरणमा संलग्न हुनसक्ने शंका गरिएको हुँदा निज उपर पुनः अनुसन्धान र छानबिन गरी दोषी ठहरिए कानून बमोजिमको हदैसम्मको कारबाही गरिपाउँ भन्ने व्यहोरा उल्लेख छ ।

यो बिषयमा कञ्चनपुर प्रहरी प्रमुख दिनेशकुमार आचार्यले भने अनुसन्धानको बिषय भएकाले जाहेरी परे÷नपरेको केही बोल्न नमिल्ने बताए । १४ महिना बितिसक्दा पनि निर्मला पन्त प्रकरणमा संलग्नहरु कुनै पनि कानूनको कठघरामा आउन सकेका छैनन् ।

घटनाको १४ महिनापछि भने केही महत्वपूर्ण काम भएका छन् । राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व कार्यकारी निर्देशक जीवन रिजालको संयोजकत्वमा डिएनएबारे सत्यतथ्य पत्ता लगाउन विज्ञहरुको एउटा प्राविधिक टोली गठन भएको छ । त्यसो त यसअघि नै राष्ट्रिय मानवअधिकार आयोगले गठन गरेको विज्ञ टोलीले वंश पहिचानको मात्र डिएनए परीक्षण गरिएको र व्यक्ति पहिचानको डिएनए परीक्षण नगरिएकाले डिएनएबाट नभई ह्युमन इन्टेलिजेन्सबाट अनुसन्धान गर्न सुझाव दिइसकेको छ ।

दिलिपमाथि अझै शंका गर्नुपर्ने बलियो आधार रहेको अनुसन्धान गरिरहेका अधिकारीहरु बताउँछन् । दिलिपले बयानमा साइकलको चेन बिग्रेको कहानी भन्नु, अनि निर्मलाको साइकलको चेन बिग्रने समस्या भइरहनु, दिलिपले साइकल भेटिएको स्थानबाट माथि उक्लिएको बताएका ठाँउमा पाइला भेटिनु, निर्मलाको साथमा २० रुपैयाँ हुनु र दिलिपले पनि पन्तको साथबाट २० रुपैयाँ भेटेको बताउनु, निर्मलाको कपडा च्यातिएको हुनु र दिलिपले पनि च्यातिएको थियो भन्नु, विष्टले वी’र्य भित्रै छाडेको भन्नु र निर्मलाको भेजिनल स्वावमा वी’र्य भेटिनु लगाएतका बिषयले दिलिपमाथि जो–कोहीले पनि शंका गर्न सकिने आधार छन् ।

गृह मन्त्रालयबाट १५ दिनको समय सीमा तोकेर राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका पूर्व कार्यकारी निर्देशक एवंं डिएनए विज्ञ जीवन रिजालको संयोजकत्वमा राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका डिएनए विज्ञ दिनेश झा र शिक्षण अस्पताल महाराजगंजका फरेन्सिक विज्ञ डा.तुलसी कंडेलसहित ३ सदस्यीय टोली गठन गरेको छ । यो टोलीले निर्मला पन्त प्रकरणमा डिएनएको विषयमा उत्पन्न जटिलता निराकरण गर्नेछ ।

दिलिपसिंह विष्टलाई यसअघि अदालतबाट म्याद थप भएपनि पछि सरकारी वकिल कार्यालयबाटै साधारण तारेखामा छोडिएको थियो ।

Related Articles

Back to top button