समाचार

महरा रोशनीको घरमा पुगेको सीसीटीभी फुटेज

काठमाडौं । यौन हिंसाको सिकार भएको भन्दै मिडियामा आएकी रोशनी शाहीले मंगलबार साँझ आफ्नो बयान फेरेपनि प्रहरी अनुसन्धानले तत्कालीन सभामुख कृष्णबहादुर महरा उनको निवास पुगेको पुष्टि गरेको छ ।

प्रहरीले संकलन गरेको सीसीटीभी फुटेजमा महरा निजी सुरक्षाकर्मी नै लिएर त्यहाँ पुगेको देखिएको छ । स्रोतका अनुसार उनी त्यहाँ पुगेको सूचनाको प्राविधिक विश्लेषण गरेर प्रहरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएको थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ।

स्रोतबाट कान्तिपुरलाई प्राप्त जानकारीअनुसार साँझ ७ बजेर ६ मिनेटमा महराको गाडी शाहीको निवासछेउमा रोकिएको थियो । एक घण्टा १९ मिनेटपछि ८:२५ मा उनी त्यहाँबाट फर्किएका थिए । त्यहाँबाट महरा सोझै सभामुख निवास बालुवाटार पुगेका थिए । प्रहरीले बालुवाटार क्षेत्रबाट पनि सीसीटीभी फुटेज संकलन गरेको थियो, जसमा महरा ८ बजेर ५३ मिनेटमा निवास प्रवेश गरेको देखिन्छ ।

प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त बानेश्वरको टोली बुधबार साढे ९ बजेतिर शाहीको कोठामै गएर घटनाबारे थप बुझेको थियो । त्यतिबेला पनि शाहीले आपसमा बाझिने गरी घटनाबारे बताएकी थिइन् । प्रहरीले लिखित जाहेरी दिन आग्रह गर्दा उनले श्रीमान् आएपछि मात्रै आफूले निर्णय लिने बताएकी थिइन् । अघिल्लो दिनसम्म आफूमाथि यौनहिंसा भएको बताउँदै प्रहरीको टोल फ्रि नम्बर एक सयमा कल गरेकी र केही अनलाइन सञ्चारकर्मीसँग घटना सुनाएकी उनी ४८ घण्टाभित्रै ‘युटर्न’ भइन् । शाहीले सोमबार आफैंले दिएको अन्तर्वार्ताभन्दा ठ्याक्कै विपरीत खालको अन्तर्वार्ता मंगलबार दिइन् । उनले मंगलबारको अन्तर्वार्तामा महरा आफ्नो घरमै नआएको दाबी गरिन् । मंगलबार दिनभरजसो मोबाइल फोन अफ गरेर सम्पर्क बाहिर रहेकी शाहीले अन्तर्वार्ता दिएपछि मात्रै आफ्नो मोबाइल अन गरेकी थिइन् । उनले बयान फेरेको विषयमा मंगलबार राति कान्तिपुरले उनीसँग जिज्ञासा राखेको थियो । जवाफमा उनले यो विषय बन्द भइसकेको उल्लेख गर्दै भनिन्, ‘यस्ता झिनामसिना कुरातिर नजाम् के । आ–आफ्नो काम गर्नुस् ।’

शाहीले बुधबार साँझ महानगरीय प्रहरी वृत्त बानेश्वरमा लिखित निवेदन दिँदै आफूमाथि यौन दुर्व्यवहार भएको भनी मिडियामा आएको कुरामा सत्यता नरहेको उल्लेख गरेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार उनले निवेदनमा डिप्रेसनका बेला होसमा नभएर मिडियामा बोलेको जनाएकी छन् । शाहीले ४८ घण्टाभित्रै किन बयान फेरिन् भन्ने प्रश्नको उत्तर खोज्न प्रहरीले चासो देखाएको छैन । यसबारे राज्यका अन्य निकायले पनि चासो लिएको देखिँदैन । बरु उनी असुरक्षित हुन सक्ने वा भावावेशमा अप्रिय निर्णय लिन सक्ने भन्दै प्रहरी परिसर काठमाडौंले उनको सुरक्षामा एक असई र एक महिला प्रहरी खटाइदिएको छ ।

यो घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने मंगलबार बिहानपछि अपराह्न ४ बजेसम्म महिला सम्पर्कबाहिर रहेको र त्यही समयमा उनी आफ्नो बयान फेर्न दबाबमा परेको हुन सक्ने सुनाए ।
घटना सार्वजनिक भएपछिको अवधिमा शाही परिवार वा नातेदारको साथमा नहुनु र महरासँग निकट व्यक्तिहरूको सम्पर्कमा पुग्नुबाट पनि उनी दबाबमा परेको आशंका जन्मिन्छ ।

अपराध पीडित संरक्षण ऐन २०७५ ले पनि पीडितलाई राज्यले नै संरक्षण दिनुपर्ने व्यवस्था गरेको छ । उक्त ऐनको दफा १० मा पीडितलाई अभियुक्त, कसुरदारबाट पीडित वा पीडितमा आश्रित व्यक्तिविरुद्ध हुन सक्ने आक्रमण, क्षति, डर, त्रास, धम्कीबाट सुरक्षित हुन पाउने अधिकारको व्याख्या गरिएको छ । तर शाहीले राज्यबाट यस्तो सुरक्षाको प्रत्याभूति पाएको देखिँदैन । काठमाडौं बाहिर रहेका उनका श्रीमान्ले पनि घटनाको सन्दर्भमा साथ दिएको देखिँदैन । बरु उनका श्रीमान् घटना सार्वजनिक भएपछि निरन्तर महरा र उनी निकटका मान्छेसँग सम्पर्कमा रहेको र घटना मिलाउने आश्वासन आरोपित पक्षलाई दिएको देखिन्छ ।

अधिवक्ता मिरा ढुंगानाले आफ्नो समस्याबारे प्रहरीलाई मौखिक जानकारी गराएपछि पीडितलाई संरक्षण गर्नु राज्यको दायित्व हुने बताइन् । उनले यो घटनामा पीडित मानसिक दबाबमा परेको र राज्यबाट पाउनुपर्ने सुरक्षा नपाएको बताइन् । ‘प्रतिवादी पक्ष शक्तिशाली व्यक्ति हुनेबित्तिकै पीडितलाई खुल्न, आफ्नो भनाइमा टिकिराख्न गाह्रो हुने गर्छ,’ उनले भनिन्, ‘झन् यो घटनामा त पीडितलाई श्रीमान्बाटै पनि साथ नभएको देखिन्छ ।’ पीडितले बयान किन फेरिन् वा त्यस निम्ति उनलाई क–कसले कसरी बाध्य पार्‍यो भन्ने विषय अर्को अनुसन्धानको विषय भएको ढुंगानाले बताइन् ।

प्रहरीले लिखित जाहेरीलाई प्राथमिकता दिएको र महिलाले एक सयमा खबर गरेपछि राजनीतिक नेतृत्वलाई घटनाबारे जानकारी गराएर आदेश पर्खिने शैली अपनाएको देखिन्छ । अधिवक्ता ढुंगानाको बुझाइमा पीडितले जानकारी टिपाउनु नै सबैभन्दा बलियो प्रमाण मान्दै अनुसन्धानलाई अगाडि बढाउनुपर्नेमा प्रहरी चुकेको छ ।

मंगलबार आफ्नो पूर्वभनाइसँग बाझिने गरी नागरिकखबर डटकमलाई अन्तर्वार्ता दिनुअघि शाही सामाखुसी क्षेत्रमा पुगेको देखिन्छ । त्यहाँबाट सोह्रखुट्टेस्थित एक आफन्तको घरमा बसेर उनले आफ्नो पूर्ववत् भनाइ बदलेर अन्तर्वार्ता दिएकी थिई । सशस्त्र द्वन्द्वकालदेखि नै तत्कालीन माओवादीबाट भूमिगत राजनीति गरेका शाहीका श्रीमान् पछिल्लो समय पनि उच्च तहका नेताहरूसँग सम्पर्कमै थिए । उनी शक्ति बस्नेत गृहमन्त्री भएका बेला सचिवालयमा कार्यरत समेत थिए । शाहीको युटर्नमा उनका श्रीमान् र महराका निकट केही व्यक्तिको भूमिका हुनसक्ने देखिन्छ । कान्तिपुरकर्मीसँग बुधबार बिहान पनि शाहीले घटनाबारे पत्रकार सम्मेलन गर्ने बताएकी थिइन् । उनले पत्रकार सम्मेलनको तयारी अरू कसैले गरिरहेको संकेत गरेकी थिइन् तर विस्तृत खुलाइनन् ।

पीडितले लिखित जाहेरी नदिएको भन्दै प्रहरीले पनि अनुसन्धान अगाडि बढाएको छैन । प्रहरीले उनको कोठाबाट प्रमाण भन्दै संकलन गरिएका मदिरा, गिलास, महराको भनिएको चस्माको टुक्रा, जुत्ताको तलुवा लगायतका सामग्री महानगरीय प्रहरी वृत्त तीनकुनेमै राखेको छ । जाहेरीको अभावमा ती प्रमाणको परीक्षण अगाडि नबढाइएको प्रहरीको भनाइ छ ।

Related Articles

Back to top button