समाचार

रवि लामिछाने पक्राउ पर्दा महरा किन नपर्ने

काठमाडौँ – नेपाली काँग्रेसका नेता धनराज गुरुङले कृष्ण बहादुर महरा प्रकरणमा महिलाले बयान फेर्नु शंकास्पद रहेको बताएका छन्।

बुधबार एक निजि रेडियोमा अन्तर्वार्ता दिँदै गुरुङले पीडित महिलाको बयानको भिडियो बाहिर आएको एक दिन नबित्दै बयान फेरिएको विषयमा अनुसन्धान गर्नु पर्ने बताएका हुन्।

प्रमाणसहित मिडियामा आइसकेको र यसैको आधारमा महराले राजिनामा दिसकेको हुँदा गम्भीर भएर घटनाको अनुसन्धान गर्नु पर्ने गुरुङले बताए। पत्रकार सालिकराम पुडासैनी प्रकरण कुनै किटानी जाहेरी बिना भिडियोकै आधारमा रवि लामिछाने पक्राउ परेको उल्लेख गर्दै गुरुङले महरा माथि पनि अनुसन्धान थालिनुपर्ने बताए।

“प्रमाणसहित मिडियामा आइसकेको र यसकै कारणले उहाँले पदबाट राजनीतिमा पनि दिइसकेको अवस्थामा फेरि पीडित पक्षले उजुरी दिनुपर्छ भन्ने लाग्दैन । त्यसको उदाहरणका लागि सालिकराम पुडासैनीको जब भिडियो बाहिर आयो । पुडासैनी परिवारले रवि लामिछानेको विरुद्ध कुनै किटानी जाहेरी दिएका थिएनन् । यही प्रशासनले भिडियाको आधारमा रवि लामिछानेलाई समातेर थुनेको थियो । जब पीडित महिलाको बयानको भिडियो बाहिर आइसकेपछि उहाँ तुरुन्त प्रहरी पक्राउ गर्नुपर्दैन । नेपालको समस्या यही छ । सर्वसाधारणलाई कानुन लाग्ने ठूला–ठालुलाई कानुन नलाग्ने हुन्छ ?”,उनको प्रश्न छ।

पिडित भनिएकी महिलाले दबाबमा आएर बयान फेरेको हुन सक्ने गुरुङको अनुमान छ। गच्छेअनुसार ललाई, फकाई, लोभलालच देखाई, डर, त्रास, दबाब आदि जुनसुकै हर्कत गरेर बयान फेर्ने चलनले गर्दा यस्ता घट्नाहरु झन्झन् बढ्दै गइराखेको उनले तर्क गरेका छन्।

महरा प्रकरणमा राज्यको एउटा सम्मानित पदमा रहेको व्यक्ति जोडिएकोले यसलाई छिटोछिटो छानविन गर्नुपर्ने उनको बुझाइ छ।

“यो घटना त झन् राज्यको एउटा सम्मानित पदमा रहेको व्यक्ति जोडिएकोले यसलाई छिटोछिटो छानविन गर्नुपर्छ भन्ने लाग्छ । उहाँ त सर्वसाधारण मान्छे होइन नि । कुनै मुलुकको सभामुख जस्तो सम्मानित पदमा बसेको व्यक्तिले घटनाएको हुनाले यसमा राज्य मुकदर्शक भएर बस्नुहुँदैन । पर्खेर बस्ने विषय यो होइन यसमा राज्य प्राथमिकतासाथ लाग्नुपर्छ भन्ने मलाई लाग्छ ।”,उनले भनेका छन्।

source : Bigulnews

Related Articles

Back to top button