व्यापारी युवाले एम्बुलेन्स रोकिदिदा बिरामीको बाटोमै ज्यान गयो
नुवकोट । एम्बुलेन्सलाई एक व्यापारी युवाले जबरजस्ती रोकेकै कारण नुवाकोटमा एक महिलाको उपचार नपाएर बाटोमै ज्यान गएको छ । रसुवाको उत्तरगया गाउँपालिका-२ की २५ वर्षीया ईन्द्रकुमारी तामाङलाई बोकेर आएको एम्बुलेन्सले आफ्नो मोटरसाइकललाई छोएको भन्दै मंगलबार साँझ एक स्थानीय युवाले अवरोध गरेका थिए । जसको कारण तामाङको अस्पताल नपुग्दै ज्यान गएको छ ।
घरमा अकस्मात बिरामी भएर ढलेपछि साँझ एम्बुलेन्समार्फत ती महिलालाई तत्कालै नुवाकोट सदरमुकाम विदुरस्थित अस्पताल ल्याउने क्रममा ढुंगे बजारका रामहरि बाजे भनेर चिनिएका व्यापारीका नाती २५ वर्षीय आयुश रिजालले आफ्नो इस्कुटरलाई छोएको भन्दै बीच बाटोमै रोकेका थिए । सिकिस्त इन्द्रकुमारीलाई छिटोभन्दा छिटो उपचारको खाँचो रहेको अवस्थामा रिमालले आफूलाई क्षतिपूर्ती दिनुपर्ने सर्त राखेर करीब आधा घण्टासम्म एम्बुलेन्सलाई अघि बढ्न दिएनन् ।
ती युवकलाई जे भन्छौ त्यही मान्छौं तर, बिरामी जान देउ भनेर बिन्ति गर्दापनि नछोडेका मृतक महिलाका श्रीमान रोहन तामाङले गुनासो पोखे । पछि उनै रिजालले एम्बुलेन्सले आफूलाई ठक्कर दिएकाले क्षतिपूर्ती दिलाइदिन भन्दै प्रहरी बोलाएको र प्रहरीले पनि लाइसेन्स नभएको बाहानामा थप समय अवरोध गरेको चालक सुवास तामाङले बताए । परिवारले उचित क्षतिपूर्ती र दोषीलाई कानून बमोजिम कारबाही हुनुपर्ने माग गरेका छन् ।