भिडियो

फेल भए बिहे गर्ने भन्दाभन्दै डाक्टर भइन्(डिआइजी) आशा

प्रहरी नायब महानिरीक्षक (डिआइजी) आशा सिंह स्त्री तथा प्रसूति बहिरंग विभागमा व्यस्त थिइन्।उनी बिरामी भएर प्रहरी अस्पताल आएकी होइनन्। डिआइजी आशा वर्दिवाला डाक्टर हुन्। उनको पुर्खौली घर सर्लाही हो।’मलाई बुबाले निकै मिहिनेत गरेर पढाउनुभयो। सबै छोराछोरीलाई उत्कृष्ट शिक्षा दिने बुबाको इच्छा थियो,’ उनले विगत सम्झिँदै भनिन्, ‘धेरै पढायो भने धेरै तिलक दिनुपर्छ, छिटो बिहे गरिदिऊँ भनेर आमा भन्नुहन्थ्यो, तर बुबाले मान्नुभएन। अहिले जुन ठाउँमा आइपुगेको छु, त्यो बुबाकै अटेरले हो।’पहिलोचोटि बिहेको कुरा चल्दा आशा एसएलसी दिँदै थिइन्। बुबाले आमालाई फकाउँदै भनेछन्, ‘एसएलसी पास गर्न सकिनँ भने बिहे गर्दिउँला।’धन्न आशाले राम्रै अंक ल्याएर एसएलसी पास गरिन्।आमाले फेरि बिहेको कुरा झिकिन्। बाबुले फेरि टारे, ‘आइएस्सी पास गरिन भने पक्का गर्दिने।’छोरीको बिहेलाई लिएर आमाको छट्पटीको कारण अरू केही होइन, रूढीवादी समाज थियो। छोरीको पढाइमा धेरै खर्च गर्यो भने पछि दाइजोमा त्यति नै खर्च गर्नुपर्छ भनेर उनी आशाको बिहे गर्न हतारिएकी थिइन्।आशाको सपना भने अर्कै थियो।पढाइमा अब्बल आशाले अमृत साइन्स क्यामपसबाट आइएस्सी पास गरिन्। डाक्टरी पढ्न छात्रवृत्तिमा दिल्ली जाने भइन्।’आइएस्सी पास गरेपछि पनि मेरो बिहेको कुरा चलेको थियो। तर, म कसैको कुरा नसुनी डाक्टरी पढ्न गएँ। बुबाको रहर मलाई डाक्टर बनाउनु थियो,’ आशाले भनिन्।एमबिबिएस तेस्रो वर्ष पढ्दै गर्दा आशाको बिहे भयो। त्यसपछि पनि उनको पढाइ रोकिएन। उनका श्रीमान् रमेशप्रसाद सिंह हाडजोर्नी डाक्टर हुन्।एमबिबिएस सकेपछि सन् १९९१ मा आशा आफ्ना

श्रीमानसँग् पाकिस्तान गइन्। त्यति बेला उनकी ठूली छोरी अभिलाषा जन्मिसकेकी थिइन्। अहिले अभिलाषा इन्जिनियर छिन् भने कान्छी छोरी सुमीले मेडिसिन पास गरेकी छन्।पाकिस्तानमा श्रीमानको पढाइ भएकाले आशा फुर्सतमा थिइन्। त्यही मौकामा उनले स्त्री तथा प्रसूतिमा डिप्लोमा पूरा गरिन्। नेपाल फर्किएर एक वर्ष शिक्षण अस्पताल महाराजगन्जमा काम गरेँ। दिनकै पाँच सय बिरामी जाँच्नुपर्ने, घरपरिवार पनि हेर्नुपर्ने,’ उनले भनिन्, ‘काम अलि सहज होला भनेर प्रहरी अस्पतालको जगिर रोजेँ।”मेरो अर्को स्वार्थ पनि थियो। बस्ने घर थिएन, प्रहरी अस्पतालले क्वार्टर दिन्थ्यो,’ उनले हाँस्दै भनिन्।२०५२ सालमा प्रहरी अस्पतालमा जागिर निम्ति अन्तर्वार्ता दिँदा उनलाई सोधिएको थियो, ‘तपाईं गाइनोको डाक्टर, यहाँ त गाइनो विभाग नै छैन। के काम गर्नुहुन्छ?”६० हजार प्रहरीका आमा छन्, श्रीमती छन्, त्यसैले गाइनो (स्त्री तथा प्रसूति) विभाग चाहिन्छ,’ त्यति बेला दिएको जवाफ सम्झिँदै आशाले भनिन्, ‘म छानिएँ भने यहाँ गाइनो विभाग सुरू गर्छु।’उनको उद्देश्य पूरा भयो। अहिले उनी प्रहरी अस्पतालमा सुत्केरी गराउनेदेखि महिलाका जटिल उपचारमा संलग्न हुँदै आएकी छन्।यसबीच स्त्री तथा प्रसूतिमा एमडी गर्न शिक्षण अस्पतालमा परीक्षा दिएकी थिइन्। नाम त निस्कियो, तर गाइनो पढ्न नपाउने भइन्। त्यसपछि वीर अस्पतालमा २०६१ सालमा एमडी पढ्न नाम निकालिन्। तीन वर्ष मिहिनेत गरेर पढिन् र स्वर्ण पदक जितिन्।’राम्रो नतिजा आएपछि खुसी नहुने कुरै भएन,’ आशाले भनिन्, ‘एमबिबिएस पास गरेको दस वर्षपछि एमडी पढेकाले पनि म धेरै खुसी थिएँ।’आशालाई डाक्टर बनाउनेसम्मको यात्रामा अविराम साथ दिएका उनका बुबा नर्सिङनारायण सिंह २०१४ सालमै हिँडेर काठमाडौं आएका थिए। शिक्षाविद् सिंह नेपाल सरकारका सचिवसम्म भए। आशाकी आमा विवेकीदेवी भने गृहिणी थिइन्।’बुबाले नपढाएको भए म यो ठाउँसम्म पुग्न सम्भवै थिएन। मेरो उमेरका मेरा महिला आफन्तहरू कसैले पढेका

थिएनन्,’ उनले भनिन्, ‘छोरीलाई एक्लै विदेश पठाउन अहिले त घरमा आनाकानी हुन्छ, त्यो जमानामा कति गाह्रो थियो होला! तै मलाई बुबाले पढ्न दिल्ली पठाउनुभयो।’आशाको परिवारमा उनका दाइ, भाइ र बहिनी इन्जिनियर छन् भने एउटी बहिनी डाक्टर छिन्। अर्का एक भाइ अर्थशास्त्री छन्।प्रहरी अस्पतालमा कार्यरत चिकित्सक प्रहरीहरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सम्म बन्न पाउँछन्आफ्नो २३ वर्षको जागिरे जीवनमा उनले महिला भएकै कारण विभेद अनुभव गर्नुपरेको छ कि छैन?हाम्रो यस्तो प्रश्नमा डिआइजी डाक्टर आशाले भनिन्, ‘विभेद त गरिएको छैन, तर कतिपय अवस्थामा नीति निर्माण तहबाट वञ्चित गरिएको छ। प्रमोसन बेला पक्षपात भएको छ।”मैले प्रहरी अस्पतालमा गाइनो डिपार्ट खडा गरेर काम गरेँ, तर प्रमोसन बेला कामको मूल्यांकन नहुने रहेछ,’ उनले भनिन्।आफूले जस्तै अवसर पाउने महिला कम रहेको उनको बुझाइ छ।विगतका तुलनामा महिलाहरूले अधिकार पाएका छन्, तर त्यो पर्याप्त छैन। पहाडको तुलनामा मधेसका महिला पछाडि पारिएका छन्, समग्रमा भन्ने हो भने महिलाहरू पछाडि नै छन्,’ उनले भनिन्, ‘महिलाहरू आर्थिक रूपले सम्पन्न भए मात्र समाज परिवर्तन हुन सक्छ।’ठूलो संघर्ष गरेर संसदमा पुगेका महिला सांसदहरूलाई समेत होच्याउने गरेको उनलाई मन परेको छैन।
अझै पनि महिलालाई लैंगिक विभेद गरिन्छ। पूर्वाग्रही ढंगले मूल्यांकन हुन्छ। यसमा हामीजस्ता महिला सचेत हुनुपर्छ,’ आशाले भनिन्, ‘समाजमा पूर्ण समानता त कहिल्यै हुँदैन, पछाडि पारिएका महिलालाई हामीले हात समातेर उठाउनैपर्छ। यसो गर्दा आफूलाई चुनौती हुन्छ कि भनेर सोच्न हुँदैन।’

Related Articles

Back to top button