समाचार

१२ वर्षअघिको घटना दुई डीएसपी संग बयान

काठमाडौँ — जिल्ला प्रहरी कार्यालय रौतहटले बम विस्फोटमा घाइते व्यक्तिहरूलाई इँटाभट्टामा हालेर जलाइएको १२ वर्षअघिको घटनासम्बन्धमा बयानका लागि नेपाल प्रहरीका दुई बहालवाला डीएसपीलाई झिकाएको छ । रौतहट प्रहरीले ०६४ चैत २७ गतेको घटनाका विषयमा बयानका लागि डीएसपीद्वय राजीव बस्नेत र इन्द्र सुवेदीलाई उपस्थित गराइदिन मंगलबार प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

पत्रपछि प्रहरी प्रधान कार्यालयले डीएसपीद्वय बस्नेत र सुवेदीलाई बयानका लागि हाजिर हुन निर्देशन दिइसकेको जानकारी स्रोतले दिएको छ । ‘बम विस्फोट र इँटाभट्टामा मानिस जलाएर मारिएको घटनाका बेला सुवेदी फिल्ड कमान्डर र बस्नेत घटनाको अनुसन्धान अधिकृत थिए,’ प्रहरी स्रोतले भन्यो, ‘उक्त घटनाको सुरुबाटै अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन भइरहेको पहलमा थप बुझ्न त्यसबेलाका अनुसन्धान अधिकृत र फिल्ड कमान्डरसँग सोधपुछ गर्न लागिएको हो ।’

रौतहट प्रहरी प्रमुख एसपी भूपेन्द्र खत्रीले अनुसन्धानसँग जोडिएका सबै सबुत प्रमाण संकलनकै क्रममा रहेको जानकारी दिए । ‘यो वा त्योभन्दा पनि अनुसन्धानका सबै पक्षबाट सबुत प्रमाण र वस्तुस्थिति बुझ्ने क्रममा छौं,’ रौतहटबाट एसपी खत्रीले भने, ‘यो केसलाई जतिसक्दो चाँडो टुंगोमा पुर्‍याउँछौं ।’

प्रहरीले घटनाका मुख्य योजनाकार कांग्रेस सांसद तथा पूर्वमन्त्री मोहम्मद आफ्ताव आलमलाई असोज २६ गते पक्राउ गरिसकेको छ । उनी हाल रौतहट प्रहरीकै हिरासतमा छन् । अदालतबाट म्याद थप गरेर प्रहरीले उनीसँग बयान लिइसकेको छ । उनलाई सुरुमा ७ दिन र गएको आइतबार थप ५ दिनको म्याद लिएर हिरासतमा राखिएको छ ।

घटनामा भागेर बाँचेका घाइते एक पीडितको त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट फरेन्सिक जाँच गरिसकेको प्रहरीले त्यसबेला घटनाको अनुसन्धान अधिकृत बस्नेत र घटना हुँदा फिल्ड कमान्डर रहेका सुवेदीसँग बयान लिन लागेको हो । प्रहरीले घटनामा मारिएका व्यक्तिको मोजा, गन्जी र घाइतेलाई इँटाभट्टासम्म पुर्‍याउन प्रयोग गरिएको ट्र्याक्टर तथा अन्य सबुत प्रमाण नियन्त्रणमा लिइसकेको छ ।

घटनाबारे त्यसबेलाका गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमविक्रम राणा आफू अनभिज्ञ रहेको भन्दै पन्छिए पनि फिल्ड निरीक्षणमा जाने, मुचुल्का उठाउने र अनुसन्धान गर्ने अधिकृतमाथि प्रहरीले अनुसन्धान थालेको हो । १२ वर्षअघिको घटनाका आरोपितलाई उन्मुक्ति दिने गरी सबुत प्रमाण नष्ट गर्न राजनीतिक र प्रशासनिक दबाबमा परेर त्यसबेलै कमजोर अनुसन्धान गरको आरोप प्रहरीमाथि लाग्दै आएको छ ।

घटनास्थल नजिकैको इलाका प्रहरी प्रमुख सुवेदीलाई घटना भएकै साँझ तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी लक्ष्मण न्यौपानेले सरुवा गरेर इन्स्पेक्टर बस्नेतलाई खटाएका थिए । बम विस्फोट भएलगत्तै घटनास्थल पुगेका सुवेदी एसपी न्यौपानेको आदेशपछि जिल्ला तानिएका थिए । उनका ठाउँमा जिल्ला प्रहरी कार्यालयमा तैनाथ बस्नेतलाई खटाइएको थियो । प्रहरीले घटना भएको १८ दिनपछि मात्रै मुचुल्का उठाएको थियो । चैत २७ गते राति घटना भएकामा ०६५ वैशाख १४ गते शनिबार मात्रै मुचुल्का उठाइएको थियो । त्यसको ४ दिनपछि वैशाख १८ गते पीडितका तर्फबाट कांग्रेस सांसद आलमसहितका आरोपितमाथि प्रहरीमा किटानी जाहेरी परेको थियो । घटना भएकै दिन फिल्ड कमान्डरको सरुवा तथा १८ दिनपछि मुचुल्का उठाउनुको मुख्य कारण दोषी जोगाउनकै लागि भएको दाबी स्रोतको छ ।

०६५ वैशाख १८ गते प्रहरीमा किटानी जाहेरी परेकामा सोही वर्ष असार ९ गते आरोपितमाथि सर्वस्वसहित जन्मकैद सजाय हुनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस भएकामा असार ३० गते महान्यायाधिवक्ता यज्ञमूर्ति बन्जाडेले मुद्दा नचल्ने निर्णय गरेका थिए । उक्त निर्णयलाई ०६९ जेठ १६ गते सर्वोच्च अदालतले खारेज गर्दै घटनाको सुरुबाटै पुन: अनुसन्धान गर्न आदेश दिएकामा आलम ०७६ असोज २६ गते रौतहटबाटै पक्राउ परेका थिए ।

मध्यक्षेत्रका तत्कालीन डीआईजी पनि पन्छिए
घटना हुँदा मध्यक्षेत्रीय प्रहरी प्रमुख (डीआईजी) रहेका किरणकुमार गौतमले पनि उक्त प्रकरणमा अनभिज्ञता जनाएका छन् । गौतमले आफूलाई यसबारे जिल्ला र अञ्चल प्रहरी कार्यालयबाट ब्रिफिङ नभएको र अदालतमा पुगेपछि मात्रै जानकारी पाएको उनको दाबी छ । ‘जनआन्दोलन सकिएर लोकतन्त्र आएको थियो, प्रहरीमा चेनअफ कमान्ड एक किसिमले खुस्किसकेको थियो,’ घटनाबारे कान्तिपुरले सोधेको प्रश्नमा गौतमले भने, ‘मलाई जिल्ला र अञ्चल प्रहरी कतैबाट पनि जानकारी गराइएन । अहिले पो यस्तो घटना हुँदा पनि किन मलाई खबर गरिएन भनेर अचम्मित भएको छु ।’ घटनामा संलग्न कसैले पनि उन्मुक्ति नपाउने गरी कानुनी दायरामा ल्याउनुपर्ने उनले बताए ।

जनआन्दोलनपछि जिल्ला प्रहरी प्रमुख मात्रै नभएर तल्लो दर्जाका प्रहरीको सरुवा/बढुवामा समेत माथिबाट निकै दबाब आउने गरेको र उक्त घटनापछि जानकारी पनि माथि नै गराएर आफूसम्म नआएको हुन सक्ने गौतमले जिकिर गरे ।

तेस्रोपटक म्याद थपको तयारी
बम विस्फोट र इँटाभट्टामा हालेर व्यक्ति हत्या गरेको अभियोगमा पक्राउ परेका सांसद मोहम्मद अफताब आलमलाई तेस्रो पटक म्याद थप्ने तयारी गरिएको छ । प्रहरीले शुक्रबार तेस्रोपटक म्याद थप गर्न अदालत लैजान लागेको हो । रौतहटका एसपी भूपेन्द्र खत्रीले दुईपटक दिइएको समयमा अनुसन्धानले पूर्णता नपाएपछि तेस्रोपटक म्याद थप गर्न लैजाने तयारी गरिएको बताए ।

प्रकाशित : कार्तिक ८, २०७६ ०७:४६

Related Articles

Back to top button