समाचार

रोशनीले बयान फेरेपछि महरामाथि प्रहरी झन् कडा बन्दै

काठमाडौं, ९ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरा जेल बस्ने या धरौटीमा रिहा हुने टुंगो आउँदो हप्ता लाग्नेछ । १९ असोजमा पक्राउ परेका उनीमाथि २५ दिनको अनुसन्धान समयावधि आउँदो हप्ता सकिने भएकाले यसको टुंगो आउँदो हप्ता लागिसक्नुपर्नेछ ।

महरा प्रकरणमा पीडित भनिएकी रोशनी शाहीले अदालतमा पुगेरै महराको बचाऊमा बयान फेरेपछि मुद्दा निकै जटिल बनेको छ । तर, राज्य महरामाथि झन् कठोर बन्नसक्ने देखिएको छ । किटानी जाहेरी करकापमा भनेर रोशनीले बयान दिएपछि महरामाथि जर्बजस्ती करणीकै अभियोगमा मुद्दा दायर हुनसक्छ । प्रहरीले प्रमाणहरु संकलन गरिसकेकाले उनीमाथि कडा सजायको मागसहित मुद्दा दर्ताको तयारी भएको बुझिएको छ ।

रोशनीले महरालाई जोगाउन लागिपर्दा उल्टै पीडितलाई प्रभाव या दबाबमा पारेको मुद्दा समेत लाग्न सक्छ । यसले सरकार पक्ष र महरा पक्षबीच अदालतमा हुने बहस र कानुको कला रोचक बन्न सक्छ । रोशनीले आफू डिप्रेसनको रोगी समेत भनेकी छिन् । आफूलाई गलत देखाएर महरालाई जोगाउन खोज्नुले बयानका आधारमा अदालतले फैसला गरेमा महरा छुट्ने र रोशनी जेल जाने अवस्था बन्नसक्छ । तर, सरकार पक्षले रोशनीलाई प्रभाव र दबाबमा पारेको भन्दै महराविरुद्ध जर्बजस्ती करणीको मुद्दा सम्म लगाउन सक्छ र त्यो अवस्थामा स्वास्थ्य परीक्षणलगायतका जटिल विषय उठ्न सक्छ ।

घटना यस्तो मोडमा पुगेको छ कि सरकार पक्ष महराविरुद्ध अझ कडा रुपमा अदालतमा प्रस्तुत हुनुपर्ने अवस्थ ा बनेको छ । जर्बजस्ती प्रयासको अभियोगमा उजूरीकर्ता रोशनी शाही नै बयान फेरेर उनको समर्थनमा अदालतमा उपस्थित भएपछि घटनाले नयाँ मोड लिइसकेको थियो ।

जर्बजस्ती सम्बन्धि मुद्दामा प्रायः पीडितले बयान फेर्ने गरेको तथ्यांक छ । नेपालको हकमा अदालती प्रक्रियामा यस्ता धेरै उदाहरण छन् । तर, पीडतले बयान फेरेपनि पीडकलाई जोगाउन नसकिएको धेरै घटना छन् ।

१२ असोजको राति आफूमाथि जर्बजस्ती भएको दाबी गरेकी रोशनीको न त स्वास्थ्य जाँच गरिएको थियो न त घटनास्थलको प्रहरी अनुसन्धान गम्भीरताका साथ भएको थियो । रोशनी उल्टै आफूले आवेगमा आएर बोलेको भन्दै सच्याउन थालिन् । उनले सामाजिक सञ्जालमा महराविरुद्ध लेख्ने र बोल्नेविरुद्ध लेखिरहिन् । यसबीच १८ असोजमा एउटा आश्चर्यजनक कदम चालिन् । उनले महराविरुद्ध किटानी जाहेरी दिइन् ।

जाहेरीमा आफूमाथि जर्बजस्ती प्रयासमात्र भएको उल्लेख थियो । यो योजनावद्ध तरिकाले हालिएको किटानी जाहेरी हो भन्ने कतिपय कानुनका जानकारको भनाई छ । किटानी जाहेरी दिनुपर्ने वाध्यकारी अवस्था रोशनीलाई परिसकेको थियो । अन्तर्राष्ट्रिय समुदायले पनि यो घटनातर्फ संकेत गर्दै बोलेपछि रोशनीले जाहेरी नदिए प्रहरी आफै अगाडि बढ्नुपर्ने अवस्था बनेको थियो । यस अवस्थामा रोशनीले मुद्दा कमजोर बनाउने गरी किटानी दिइन् ।

महराले प्रहरीमा बयान दिन मानेनन् । अन्ततः ३ कात्तिकमा रोशनी शाही स्वयं अदालतमा उपस्थित भएर छुटाउनका लागि बयान दिन पुगिन् । काठमाडौं जिल्ला अदालतमा आइतबार घटनाले नाटकीय रुप लियो । यसले किटानी जाहेरी देखि अहिलेसम्मका घटनामा महरालाई सुरक्षित अवतरण गर्ने कानुनी मार्ग तयार गर्न खोजिएको देखिन्छ

Related Articles

Back to top button