समाचार

कार दुर्घटना एकै परिवारका ३ जनाको मृत्यु

अर्घाखाँची — रुपन्देहीको सैनामैना नगरपालिका–२ मुर्गियाबाट अर्घाखाँचीतर्फ आउँदै गरेको बा १७ च ६९१७ नम्बरको रातो प्लेटको कार सन्धिखर्क नगरपालिका–७ नरपानीको दहखोलामा दुर्घटना हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया दुर्गादेवी खड्का, उनका ४३ वर्षीय छोरा भक्तबहादुर र ३९ वर्षीय छोरा तिलबहादुर रहेका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए ।

चालक ४९ वर्षीय गंगाबहादुर खड्का र २५ वर्षीय विनोद खड्का सख्त घाइते भएका छन्। उनीहरुलाई बुटवल लगिएको छ। गंगाबहादुर पनि दुर्गादेवीकै छोरा र विनोद नाति हुन्। उनीहरु पुरानो घर पाणिनि गाउँपालिका–८ पालीतर्फ आउँदै थिए।

केही वर्षअघि उनीहरु पालीबाट बसाइँसराई गरेर मुर्गिया गएका थिए। पारिवारिक कामले एउटै गाडीमा आउँदै गर्दा दुर्घटना भएको हो। सडक छेउबाट गुडेको कार ब्रेक लगाउँदा खसेको हुनसक्ने अनुमान गरिएको छ।
……………..
रुपन्देहीको सैनामैनाबाट अर्घाखाँचीतर्फ आउँदै गरेको कार सन्धिखर्क नगरपालिका–७ नरपानीको दहखोलामा दुर्घटना हुँदा घटनास्थलमै तीन जनाको ज्यान गएको छ। चालक र एक यात्रु घाइते छन्।

बा१७च ६९१७ नम्बरको रातो प्लेटको कार सडकबाट एक सय मिटर तल खस्दा दुई जना पुरुष र एक जना महिलाको मृत्यु भएको र सनाखत हुन बाँकी रहेको प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए। घाइतेलाई बुटवल पठाइएको छ। कार सडकको छेउबाट गुडेको र ब्रेक लगाउँदा खसेको हुनसक्ने उनले बताए।

प्रकाशित : कार्तिक २०, २०७६ ११:२२

Related Articles

Back to top button