समाचार

ड्युटी सकेर सुतेका इन्सपेक्टर अभिशेक थापाको अचानक निधन…

सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक अभिशेक थापाको उपचारका क्रममा निधन भएको छ । मङ्गलबार साँझसम्म ड्युटी गरेर खाना खाएर सुतेका थापा बिहान एक्कासि बेहोस भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लगिएको थियो ।

उपचारका क्रममा उनको निधन भएको सशस्त्र प्रहरी बल ३३ नम्बर गण त्रिपुरा जुम्लाका प्रहरी उपरीक्षक सरत न्यौपानेले बताउनुभयो । सशस्त्र प्रहरी निरीक्षक थापा दैलेख जिल्ला नारायणी नगरपालिका–८ निवासी हुन् ।

‘निरीक्षक थापा मङ्गलबार राम्रोसँग ड्युटी भ्याएर खाना खाएर सकुशल सुतेका थिए । आज बिहान एक्कासि बेहोस भएको थाहा पाएपछि उपचार गर्न लगेका हौँ । तर बचाउन सफल भएनौँ”, उपरीक्षक न्यौपानेले भन्नुभयो, “डाक्टरका अनुसार हृदयाघातका कारण निधन भएको आशङ्का छ ।”

अब परिवारसँग खबर गरेर गाडी वा अन्य सवारीसाधनमा उनकै जिल्ला पठाएर कानूनी प्रक्रियाअनुसार दाहसंस्कार गरिने पनि उपरीक्षक न्यौपानेले बताउनुभयो । मृ तक थापा एक वर्षदेखि जुम्लामा बसेर सेवा गर्दै आएका थिए ।

कार दुर्घटनामा एकै परिवारका तीनको निधन, दुई घाइते

सन्धिखर्कको नरपानीमा कार दुर्घटनामा एकै घरका तीन जनाको निधन भएको छ । दुई जना घाइते भएका छन् । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा आज बिहान बा १७ च ६९१७ नम्बरको कार दुर्घटना हुँदा एकै घरका तीन जनाको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

कार रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै थियो । मृत्यु हुने र घाइते हुने सबै एकै परिवारका रहेका छन् । घटनामा रुपन्देहीको सैनामैना नगरपालिका–२ मुर्गियाकी ८० वर्षीया दुर्गादेवी खड्का, उनका छोरा ४३ वर्षीय भक्तबहादुर र अर्का छोरा ३९ वर्षीय तिलबहादुरको घटनास्थलमै निधन भएको हो ।

घाइते हुनेमा चालक ४९ वर्षीय गङ्गाबहादुर खड्का र निजका जेठो दाजुका छोरा २५ वर्षीय विनोद रहेका छन् । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि थप उपचारका लागि बुटवल पठाइएको छ । कार सडकबाट करीब १५० मिटर तल खसेको छ । ओरालो बाटोमा तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।

कुवामा डुबेर पुरुषको निधन

कुवामा डुबेर आज बिहान एक पुरुषको निधन भएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ भुष्टुङमा रहेको कुवामा डुबेर अन्दाजी ५४ वर्षीय सोमबहादुर कामीको निधन भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।

गुल्मीको सत्यवती गाउँपालिका लुम्पेकका कामी विगत झण्डै १०÷१२ वर्षदेखि भुष्टुङमै बस्दै आएका स्थानीय चोलाकान्त पाण्डेले बताउनुभयो । कुवामा डुबेको अवस्थामा श व देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । घटनाको कारण खुल्न सकेको छैन ।

Related Articles

Back to top button