समाचार

लिपुलेक कालापानी मा नेपाली सुरक्षाकर्मी परिचालन

दार्चुला– भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि कालापानी र लिपुलेक क्षेत्र आफ्नो भूमिका रुपमा समेटिएको विषयमा देशभर विरोध भइरहँदा दार्चुलाका जनप्रतिनिधिले समेत आफ्नो धारणा सार्वजनिक गरेका छन्। जिल्लाबाट संघ, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरुले विज्ञप्तिमार्फत त्यस क्षेत्रमा सुरक्षा निकायको उपस्थिति हुनुपर्ने माग गरेका छन्। पछिल्लो समय दार्चुलाको उत्तरी क्षेत्रमा नेपाली सुरक्षाकर्मी सीमा रक्षाका लागि खटिन छोडेको छ। दार्चुलाको सामरिक महत्वको क्षेत्र तिंकरमा हाल नेपाली सुरक्षाकर्मीको उपस्थिति शून्य छ। दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेशसिँह ठगुन्ना, प्रदेशसभा सदस्यद्वय मानबहादुर धामी र गेल्बुसिह बोहराले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै भारतको विरोधभन्दा नेपाली संरचना निर्माणमा जोड दिएका छन्। नेकपा सांसदद्वारा निकालिएको विज्ञप्तिमा भारतीय पक्षको विरोध भन्दा पनि राष्ट्रको सुरक्षाका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी राखिनुपर्ने, व्याँसबासीले स्वदेशीकै बाटो भएर सदरमुकाम खलंगासम्म आवत् जावत् गर्नसक्ने बनाउनु पर्नेमा जोड दिएका छन्। नेपाली भूमि आफ्नो नक्साको राखेको भारतको ठाडो

विरोध नगरेका नेकपा सांसदहरुले विज्ञप्तिको पहिलो लाइनमै कालापानी, लिपुलेक र लिम्पियाधुरा व्याँस गाउँपालिका–१ मा पर्ने उल्लेख गर्न भने आँट गरेका छन्। ‘दार्चुला जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ अन्तरगत पर्ने कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र विगत लामो समयदेखि भारतले अतिक्रमण गरेको नेपाली भूमि अतिक्रमण गरेको सर्वविदितै छ’, विज्ञप्तिमा सांकेतिक विरोध भने गरेको देखिएको छ। दशकौदेखि यथावत रहेको नेपाली भूमि अतिक्रणको विषयलाई कुटनीतिक पहल मार्फत् यथाशीघ्र समाधानको मागसहित ६ बुँदे माग समेत गरेका छन्। झण्डै एक दशकदेखि निर्माण कार्य थालिएको दार्चुला–तिंकर सडक हालसम्म न्यून प्रगति भएको भन्दै सडक निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिन नेपाल सरकारसंग माग गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्बाट सडकको अनुगमन गरिनुपर्ने र विगत पनि प्रधानमन्त्रीलाई भेटेर छलफल र माग पत्र पेश गरेको सम्बन्धमा पनि पुनःस्मरण गराउँदै नेकपा सांसदले माग गरेका छन्।

Related Articles

Back to top button