समाचार

बन्चरो प्रहार गरी आफ्नै बुवाको हत्या

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिका २ बलाती गाउँमा बन्चरो प्रहार गरी आफ्नै बुवाको हत्या गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ परेका विष्णु भनिने ४१ वर्षीय दोर्णरत्न पोख्रेलले बन्चरो प्रहार गरी ७४ वर्षीय बुवा रत्नलाल शर्मा पोख्रेलको हत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । भुरिगाउँ बजारमा बस्ने मृतकका बुहारीले फोन गर्दा ससुराले मोबाइल फोन नउठाएपछि शुक्रबार दिउँसो घरमै गएर हेर्दा कोठाभित्र रगत मात्रै देखेपछि प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय भुरिगाउँको प्रहरी टोली घटनास्थलमा पुगेपछि घरभित्र रगत र घर नजिकै करेसाबारीमा शंकास्पद अवस्थामा खाल्डो खनी गाडिएको देखेपछी जिल्लामा खबर गरिएको इलाका प्रहरी कार्यालय भुरिगाउँका

प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले बताउनुभयोघटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरियाबाट आएको टोलीले घटनास्थलमा पुगी शंकास्पद अवस्थामा गाडिएको ठाउँ उत्खनन गर्दा मृतकको टाउको र शरीर अलग गरी एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको बर्दियाका डिएसपी मदन महराले जानकारी दिनुभयो । उत्खनन गर्दा शवको शरीर र टाउको अलग रहेको प्रहरीले जनाएको छ । घरमा बावु छोरामात्र भएको अवस्थामा जेठ १ गते राति हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । हत्या अभियोगमा मृतकका ६ छोरा मध्ये साइला छोरा दोर्णरत्नलाई इलाका प्रहरी कार्यालय भुरिगाउँले पक्राउ गरेको जनाएको छ ।मृतककी श्रीमती जेठो छोराको घर सुर्खेत गएको र घरमा अरु कोही नभएको अवस्थामा कोठाभित्रै बन्चरो प्रहार गरी हत्या गरेर करेसाबारीमा गाडेको हुनसक्ने प्रहरीले जनाएको छ । आफ्नै बावुको हत्या अभियोगमा पक्राउ परेका छोरा पाेख्रेल केही महिनादेखि गाँजा खाएर भुरिगाउँ बजार क्षेत्रमा डुलिरहने गरेको दाजु बासुदेव पोख्रेलले बताउनुभयो ।

Related Articles

Back to top button